लोकसेवाको परीक्षा तत्काल नखुल्ने

1551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ ।  अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ ।
समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन महिना लाग्नेछ । सरकारले तीनवटै तहमा कर्मचारी समायोजन गर्ने उद्देश्यले समायोजन अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको छ ।
कर्मचारी समायोजनपछि मात्रै संघमा रहने दरबन्दीको अन्तिम टुंगो लाग्ने भएकाले मंसिरमा खुल्ने भनिएको लोकसेवा नखुल्ने निश्चित भएको हो राजधानी दैनिकमा खबर छ ।

कार्यतालिका कम्तीमा तीन महिना पर धकेलिने
सरकारले मानेन रिक्त पदको विवरण पठाउन
असोजमा हुने विज्ञापन सरकारकै आग्रहका कारण मंसिरमा तय

लोकसेवा आयोगले निजामती सेवाका विभिन्न पदमा आगामी २६ मंसिरमा विज्ञापन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार २६ मंसिरमा निजामती सेवाका अप्राविधिक र प्राविधिकतर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाको विज्ञापन गर्ने तयारी आयोगले गरेको थियो ।
समयमा कर्मचारी समायोजन प्रक्रिया सुरु हुने भएकाले लोकसेवाको परीक्षा पर धकेलिने अवस्था आएको सामान्य प्रशासन मन्त्रालय स्रोतको भनाइ छ ।
यसअघि असोजमा हुने परीक्षा सरकारकै आग्रहका कारण लोकसेवाले मंसिरमा सारेको थियो तर अहिले आएर पुनः सरकारले रिक्त पदसंख्या नै नपठाएपछि आयोगले लिने परीक्षा स्वतः स्थगित हुने अवस्था आएको हो ।
लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रिक्त दरबन्दीको विवरण पठाउन पटकपटक पत्राचार गर्दै आएको छ । तर, सामान्यले भने समायोजनपछि मात्रै भर्ना गर्नुपर्ने भएकाले रिक्त दरबन्दीको विवरण आयोगमा पठाउन इन्कार गर्दै आइरहेको छ ।

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सामान्य प्रशासन मन्त्रालयबाट १५ मंसिरसम्मै रिक्त दरबन्दी विवरण आइसक्नुपर्ने भए पनि हालसम्म नआएको जानकारी दिए । सूचना अधिकारी सुवेदीले सामान्य प्रशासनबाट निर्धारित समयमा रिक्त दरबन्दीको विवरण आउने सम्भावना क्षीण हुँदै गएकाले २६ मंसिरमा विज्ञापन हुने सम्भावना टरेर गएको बताए ।
सामान्य प्रशासन मन्त्रालयका अधिकारीका अनुसार अहिले केन्द्रमा रहेका ८९ हजार कर्मचारीलाई तीनवटै तहमा समायोजन नगर्दासम्म रिक्त दरबन्दीको विवरण निक्र्योल गर्न सक्ने अवस्था छैन ।
केन्द्रीय लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउँदैन । प्रदेश र स्थानीय तहमा अब प्रदेश लोकसेवा आयोगले नै आवश्यक कर्मचारीको पदपूर्ति गर्नेछ ।
केन्द्रीय सरकारले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा रहने संगठन संरचना र कर्मचारी दरबन्दीको टुंगो भने लगाइसकेको छ । जसअनुसार संघमा ४५ हजार ८५८, प्रदेशमा २१ हजार ३९९ र स्थानीय तहमा ५७ हजार कर्मचारी रहनेछन् ।
सरकारले दरबन्दी टुंगो लगाए पनि कहाँ कति रिक्त छ भन्ने बारेमा भने स्पष्ट विवरण निकाल्न सकेको छैन । सरकारले टुंगो लगाएको कर्मचारी दरबन्दी र हाल कायम रहेका कर्मचारीको अन्तर भने झन्डै १५ हजारसम्म रहेको छ । यस हिसाबले १५ हजार दरबन्दी रिक्त रहेको देखिन्छ । तर, सरकारले रिक्त दरबन्दीका पदबारे निक्र्योल गर्न नसकेकाले समस्या आएको लोकसेवा आयोगका अधिकारी बताउँछन् ।

आयोगका सूचना अधिकारी सुवेदीले पद तथा श्रेणीअनुसार तीनवटै तहमा आवश्यक पर्ने कर्मचारी र हाल रहेका कर्मचारीबीचको अन्तर निकालेर सोहीअनुसार रिक्त पदलाई पूर्ति गर्न सक्ने सम्भावना भए पनि सरकारी पक्षले बेवास्ता गरेकाले तत्काल भर्ना प्रक्रिया नखुल्ने अवस्था आएको बताए ।
लोकसेवा आयोगले दोस्रोपटक सार्वजनिक गरेको कार्यतालिकामा निजामती सेवाका सहसचिव, उपसचिव र अधिकृतको परीक्षाको विज्ञापन मंसिरको अन्तिम सातामा गरी माघ–फागुनमा परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको थियो ।
सुब्बा र खरिदारको विज्ञापन पुसको अन्तिम सातामा गरी फागुन–चैतमा परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको थियो । तर, अब यो कार्यतालिका प्रभावहीन हुने देखिएको छ ।
लोकसेवा आयोगले नेपाल सरकारबाट विभिन्न रिक्त पदमा पूर्तिका लागि माग नआएमा सो कार्यतालिका स्वतः निष्क्रिय हुने जानकारी दिएको छ ।