धुंवाकोटको सरस्वती मावि नयाँ भवन बनाउन तिमिल्सेनाको १३ लाख सहयोग

1424 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ — लण्डनमा कार्यरत नेपाली व्यवसायी  कृष्ण तिमिल्सेनाले आँफुले अध्ययन गरेको धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा रहेको  सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि१३ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् ।

२०७२ बैशाखको भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि यहाँका विद्यार्थी चौरमा पढ्न वाध्य थिए । गाउँको बिद्यालयको यो   हाल  देखेपछि तिमिल्सिनाले केही समय अघि एक कार्यक्रमबीच १३ लाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरेर सहयोग उपलव्ध गराएको  विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले बताए ।

तिमिल्सेनाले आफूले क, ख सिकेको विद्यालयलाई त्यति रकम सहयोग गर्न पाउँदा गर्व लागेको बताए । उनले भूकम्पका बेला निलकण्ठ नगरपालिका- १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयाँ प्रदान गरेका थिए । उनले यस बाहेक पनि नेपालमा वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न मानवीय कार्यमा कयौँ पटक सहयोग गरेका थिए ।

करिब डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सेना नेपलिज् सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य हुन् । हाल उनी एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा छन् ।

सेफ पृष्ठभूमिबाट करियर सुरु गरेका उनी  एक दशकदेखि क्रिस फुडका प्रवन्ध निर्देशक रहेका छन् । तिमिल्सेनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगका हात फैलाउँदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी पनि छ ।
यो बिद्यालय भवनको पुर्ननिर्माणका लागि धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेमप्रसाद लोहनीले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत २० लाख रुपैयाँ विनियोजन गर्नु भएको छ ।