घ्याङफेदी मिनिट्रक दुर्घटना, १८ जनाको मृत्यु, ३ को सनाखत

1042 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट, २८ मंसिर – नुवाकोट जिल्लाको उत्तरीभेगको विकटमा रहेको घ्याङफेदीमा   शुक्रबार साँझ मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीको सिम्टाङबाट वडा नं. १ घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर–१ घ्याङडाडामा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । कच्चि र भिरालो सडकमा व्याक गर्नेक्रममा मिनिट्रक भीरबाट खस्न पुगेको थियो । सडकदेखि करिव ५ सय मिटर तल तादीखोलामा मिनिट्रक खसेको प्रहरीले जनाएको छ । शिखरवेसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जादै गरेको मिनिट्रक दुर्घटनामा परेको हो ।
मृतकहरुमध्ये ३ जनाको मात्र सनाखत भएको छ । मुत्यु हुनेमा शिखरवेसीका १६ वर्षिय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षिय रिबल तामाङ र ३७ वर्षिय आइत तामाङको नाम खुलेको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
घाइतेहरुको उद्धार गरी अस्पतालतर्फ पठाइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । साढे चार बजे दुर्घटना भएपनि उद्धारमा कठिनाई भएकोले घाइतेहरुलाई अस्पताल पठाउन ढिलाई भएको छ । घटनास्थलबाट मिनिट्रकमा हालेर पठाइएको घाइतेहरुलाई बीच बाटोमा एम्बुलेन्समार्फत काठमाडौं पठाउँदै गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनास्थल अफ्ठ्यारो भीरमा भएको र हराइरुहेका हरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मिनिट्रकका ४५ जना भन्दा बढी सवार रहेको बताइएको छ ।

(यो तस्वीरहरु दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिङ तामाङ र नेपाली काँग्रेसका नेता रमेशकुमार महत मार्फत प्राप्त भएको हो ।)