घ्याङफेदी दुर्घटनामा मृतक सबैको सनाखत

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२९ मंसिर, – नुवाकोट जिल्लाको घ्याङफेदीमा शुक्रबार सांझ भएको मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाउने २०  जनाको सनाखत भएको छ जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुर्घटनामा मृत्यु भएका २० जना र घाइते १४ जनाको बिबरण सार्वजनिक गरेको छ । घाइतेहरूको काठमाडौँको त्रिवि शिक्षण अस्पताल, विपि स्मृति अस्पताल र अन्तर्राष्ट्रियमैत्री बाल अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर दूरीमा रहेको दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट शुक्रबार साँझ घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना भएको थियो । कच्ची र साँघुरो सडक भएका कारण घुमाउरो मोडमा ट्रकको टायर सडकबाट बाहिर गई दुर्घटना भएको अनुमान गरिएको छ । मिनीट्रक सडकदेखि करीब ६०० मिटर तल तादी खोलामा खस्दा क्षतीग्रस्त हुन पुगेको प्रहरीले जनाएको छ । शिखरबेसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर गाउँ जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो ।
दुर्गम भएको कारण घाइतेको उद्धारमा समस्या भएको थियो । सदरमुकामबाट गएको सुरक्षाकर्मी,स्थानीयवासी, राजनैतिक दलका नेता कार्यकर्ता,सामाजिक कार्यकर्ताहरुले रातैभरी दुर्घटनास्थलमा घाईतेको खोजी तथा उद्धार गरेका थिए । स्थानीय उद्धारकर्ताले मिनीट्रकमा पठाएका बिरामीलाई बीच बाटोबाट एम्बुलेन्समा हालेर उपचारका लागि दुर्घटना भएको पाँच घण्टापछि राजधानी पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।
मृतकहरु अधिकांश दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का छन् । प्रहरीका अनुसार घटनास्थलमानै ज्यान गुमाउनेहरुमा १ बालिका, २ महिला र पुरुष १७ जना रहेका छन् । सनाखत भएका मृतक पुरुष तर्फ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का सुकुराम तामाङ(२४),केनाम तामाङ(४८),आईते तामाङ(३५),रिभन तामाङ(२५),मंगले तामाङ(२३),सेलवन तामाङ (५५),खम्सुङ तामाङ(६२), टोकल तामाङ(५५),भिम तामाङ(२१),विरे तामाङ (४३), लक्ष्य तामाङ(३३), मिङमार तामाङ(४४),छोङसेनम तामाङ(३३),मिनवहादुर तामाङ(५०),कृष्णवहादुर तामाङ(१९) र सुवय लामा (४०) बर्षका छन् । यसै गरी ७ नम्बर वडाका १८ बर्षिय रितेश पण्डित रहेका छन् ।
दुर्घटनामा परि मृत्यु भएका दुप्चेश्वर १ का १४ बर्षिया सिता तामाङ, २७ बर्षिया विपिमाया तामाङ र ३६ बर्षिया सुनसरी तामाङको पनि सनाखत भएको छ । सुकुराम तामाङ बाहेक सबै जनाको घटना स्थलमानै मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाईते भएका १४ जनाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ । उनिहरु सबै दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का रहेका छन् । उपचारमा रहेका घाईतेहरु मध्ये छिरिङ तामाङ (२२),रामवहादुर तामाङ(४०), राम तामाङ (१७) र साईला तामाङ (३६)को शिक्षण अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ ।
विरिमाया तामाङ र उनको ९ महिनाकी छोरीको अन्र्तराष्ट्रिय वालमैत्री अस्पतालमा उपचार भईरहेको छ भने शिर मिन्दु तामाङ(२३),सावित्री तामाङ(३६),मसिनो तामाङ(४५),मोजित तामाङ(३८),विरवहादस। तामाङ(४९),लक्ष्मण तामाङ(१८),चन्द्रवहादुर तामाङ(३३) र सुकुराम तामाङ (२६)को विपि स्मृति अस्पतालमा उपचार भईरहेको र उनिहरुको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ ।
गाउँबाट शव लिएर जिल्ला अस्पताल आउन असम्भव भएकाले नुवाकोट जिल्ला अस्पताल त्रिशूलीबाट चिकित्सक टोली गाउँमै पठाएर शवको पोष्टमार्टम गर्ने व्यवस्था मिलाईएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले वताए ।