धादिङ लगायत १० जिल्लामा पर्यटकीय पूर्वाधार निर्माण गरिंदै

797 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ। प्रदेशभित्रका १३ जिल्लामा एक–एकवटा पर्यटकीय गन्तव्य बनाउने योजना बनाएर ३ नम्बर प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा विकास गर्न सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षका लागि एक अर्ब एक करोड रूपैयाँ विनियोजन गरेको प्रदेश सरकारले अधिकांश बजेट पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको छ । सरकारले घोषणा गरेको पर्यंटन वर्ष २०२० लाई सफल बनाएर लक्ष्यमा पु¥याउन प्रदेश सरकारले पूर्वाधार निर्माणलाई जोड दिएको हो ।

प्रदेश नं ३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले धादिङ लगायत १० जिल्लामा पूर्वाधार निर्माणको काम गर्ने छ । पर्यटनसम्बन्धी १७५ वटा योजना रहेको र ती योजनाहरु पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख राजु क्षेत्रीले बताउनुभयो । ‘चालू आर्थिक वर्षमा एक अर्ब एक करोडको काम हुनेछ’, उहाँले भन्नु भयो । , ‘१७५ वटा योजना पाँच वर्षसम्ममा सम्पन्न गर्ने हो ।’

पर्यटन वर्षलाई लक्षित गरी प्रदेशअन्तर्गतका १० जिल्लामा हिल स्टेसन, भ्यू–टावर, मनोरञ्जन पार्क, सभाहल, सूचना केन्द्र, सामुदायिक लज, पर्यटकीय बसपार्क र पर्यटकीय गन्तव्यस्थलको पहिचान गरी विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । प्रदेशभित्रका १३ जिल्लामा एक–एकवटा पर्यटकीय गन्तव्य बनाउने योजना रहेको उहाँको भनाइ छ । उनले १० वटा जिल्लामा एक–एकवटा होमस्टे र भ्यू–टावर निर्माण गर्ने बताउनुभयो ।

२० लाख पर्यटकलाई नयाँ अनुभूति दिलाउन १० वटा जिल्लामा परम्परागत होमस्टे सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख क्षेत्रीले बताउनुभयो । एउटा होमस्टे बनाउन डेढ करोड रूपैयाँ खर्च गरिने उनले जानकारी दिनुभयो ।

पर्यटन पूर्वाधार निर्माण गर्न सुरूमा पूर्वसम्भाव्यता अध्ययन गरी गुरूयोजनासँगै डीपीआर तयार गरी निर्माणको काम सुरू गर्ने योजना रहेको छ । प्रदेश सरकारले धादिङको रूबीभ्याली, सिन्धुपाल्चोकको मुढे र हेलम्बु, दोलखाको जिरी, सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको चित्लाङ, ललितपुरको कालेश्वर, रसुवाको सेन्जोङ, र नुवाकोटको ककनीमा पर्यटक लक्षित हिल स्टेसन निर्माण गर्ने आयोजना प्रमुख क्षेत्रीले जानकारी दिनुभयो।

तीन नं प्रदेशलाई पर्यटकीय प्रदेश बनाउन पर्यटन विकास आयोजनाले यहाँको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा विश्वसम्पदाको संरक्षण, पुनर्निर्माण, व्यवस्थापन एवम् प्रचारप्रसारको माध्यमबाट पर्यटनको विकास, गुरूयोजना र पूर्वाधार निर्माण गरिने आयोजना प्रमुख क्षेत्रीले बताउनुभयो ।