सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यमा सिद्धलेक गाउँपालिका

719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


सिद्धलेक गाउँपालिकाले आफ्नो गाउँपालिकाको सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउन योजनाबद्ध रुपमा कार्य थालनि गरेको छ । घर घरमा धारा जडान सहित खानेपानी पुर्‍याउन गाउँपालिकाले विभिन्न विकास साझेदारसँग समन्वय र सहकार्य गरी २ बर्ष भित्रमा स्वच्छ खानेपानी लक्ष्य लिएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो ।

घरघरमा स्वच्छ खानेपानी धारा सहितको कार्यक्रम अन्तरगत बिहीबार प्रयास नेपाल धादिङले अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा पुर्णिामा परियोजना मार्फत संचालन हुने सिद्धलेक गापा वडा नं ४ को सुबिटार,चापडी,आदमारा र सिद्धलेक गापा वडा नं ५ आपटार,स्याखुटार खानेपानी योजना संचालन गर्न गाउँपालिका,उपभोक्ता समिति र साझेदार प्रयास नेपाल बिच बिहीबार सम्झौता सम्पन्न भएको छ । बिहीवार सम्झौता भएको योजनाहरु आगामी ४ महिला भित्रमा सम्पन्न गरिने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

बिहीवार सिद्धलेक गाउँपालिकामा भएको सम्झौता कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल,गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा ,प्रमुख प्रशासकीय प्रमुख लक्ष्मण भट्टराई ,वडाध्यक्षहरु रामहरि बराकोटी,देव बहादुर पुलामी,डिल बहादुर घले,प्रयास नेपालका अध्यक्ष सहित ४ वटै उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियोे । बिहीवार सम्झौता भएका बाहेक पनि गाउँकार्यपालिकाले निर्णय गरि साझेदारी गर्न दिएको खानेपानी योजना संचालन गर्न सर्वे ,डिजाइनको कार्य भई रहेको र क्रमागत रुपमा कार्यान्वयन गरिने प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।