भूकम्पपछि निर्माण भएका सरकारी संरचना नै अपांगमैत्री छैनन्

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – सदरमुकाम धादिङबेसीमा निर्माण भएका सरकारी संरचना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

कृषि, अदालत, जिल्ला सरकारी वकिल, जिल्ला प्राविधिक कार्यालय, वन, जिल्ला हुलाक लगायतका भवनहरु निर्माण भइरहेका छन् । सबै संरचनाहरुको भवन आचारसंहिता विपरीत डिजाइन गर्दा नै अपांगमैत्री किसिमले नगरिएकोले ठेकेदारले निर्माणको क्रममा यी भवन अपांगमैत्री बनाएका छैनन् ।

जिल्ला सदरमुकाममा बिहीबार आयोजित छलफल कार्याक्रममा सरकारी भवनसमेत अपांगमैत्री नभएकोले यसलाई अपांगमैत्री बनाउन माग गरिएको छ । अपांगता भएका व्यक्तिहरुको समस्या र चुनौतीहरु धेरै भए पनि यस किसिमको सवालमा नागरिक समाज र सञ्चार क्षेत्रबाट पैरवी कम भएकोले उनीहरुको अधिकारका लागि पैरवी गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ३ नम्बर प्रदेश कार्यालयको आयोजनामा भएको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चारजगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुले अपांगता भएकाहरुको विषयमा पैरवी गर्न प्रतिवद्धता समेत जनाएका छन् ।

बहिराहरु अध्यायन गर्ने स्वाबलम्बन आधारभूत विद्यालयका प्रधानाध्यापक तथा धादिङ बहिरा संघका अध्यक्ष रामप्रसाद अधिकारीले बहिरा तथा अपांगता भएका व्यक्तिहरु धेरै समस्या भए पनि समाजले घृणाको दृष्टिले हेर्ने गर्दा समस्या आउने गरेकोले उनीहरुको लागि सरकारले विशेष रुपले सहयोग गर्नु पर्ने बताउनुभयो ।

बहिरा तथा अपांगा भएका महिलाहरुको अवस्था दयनीय भएको र उनीहरुमाथि घरेलु हिंसा, मानसिक रुपमा समेत हिंसा हुने र अपांगता भएकाहरु समाजको अगाडि आउन नसकेकोले उनीहरुको अधिकारका लागि नागरिक समाजले समेत आवाज उठाउनु पर्नेमा निता कट्टेल अधिकारीले जोड दिनुभयो । पारिवारिक रुपमा यौन हिंसामा परेर समेत धेरै अपांगता भएकाहरुले उजुरी गर्न नसक्दा पीडा खेपेर बसिरहनु परेको अधिकारीको भनाई छ ।

अपांग अधिकारकर्मी राजु रेग्मीले गएको साउनदेखि अपांगता परिचयपत्र वितरण नहुँदा समस्या आएको र अपांगता भएकाहरुका लागि स्थानीय सरकारले अभिमूखिकरण कार्यक्रम ल्याउन नसेको र यससम्बन्धी पैरवी समेत नभएको सहभागीहरुको भनाई छ ।

नेपाल पत्रकार महासंघका सचिव राजाराम शर्माले सञ्चार क्षेत्रले सञ्चारको माध्यमबाट पैरवी गर्ने, नागरिक समाजले यसलाइ पैरवी गर्दै सरकारहरुको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिनुभयो । ।

कार्यक्रममा नागरिक अगुवा सीताराम वर्मा, दामोदर अर्याल, राजेन्द्रप्रताप शाह, राधिका सापकोटा, नारायण तिमल्सिना, केशव अधिकारीलगायतले नागरिक समाज र सञ्चार क्षेत्र सँगसँगै पैरवी गर्र्नु पर्नेमा जोड दिँदै विकासमा सघाउ पु्र्याउनु पर्नेमा जोड दिनुभयो ।

-उज्यालो अनलाइनबाट