नमूना बन्दै सिरानचौरमा रहेको धुनीबेँसी गाई कृषि फार्म

1620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ । दुई दशकअघिसम्म धादिङ, छत्रेदेउरालीको सिरानचौर ‘गुल्जार’ थियो । खेत–खोरिया आवादी थिए ।

तर, समय सधैँ यस्तै कहाँ रहिरह्यो र !

माओवादी जनयुद्ध र तीव्र सहरीकरण दुवैको चपेटामा पर्‍यो, काठमाडौंसँग साँध जोडिएको छत्रेदेउराली !

“सिरानचौरका अधिकांश मानिसहरू थानकोट, स्युचाटार र ट्याङ्लाफाँटतिर स्थानान्तरण हुन थाले,” एक दशकअघि फर्कन्छन् सञ्चारकर्मीसमेत रहेका स्थानीय मधुकर लुइटेल ।

सहरीकरणले निलेको गाउँ अझै शून्य बनाउन ०७२ वैशाखको भूकम्पले पनि सघायो । साढे तीन वर्षअघि भूकम्पले थातथलो उखेलेपछि कुनै समयको बाक्लो बस्तीलाई पात्लेवनले आफूसँग मिसाउन बेर लगाएन ।

अहिले वन–वुट्यानले ढाकेको त्यही सिरानचौरलाई आधुनिक कृषि फार्मको रूपमा विकास गर्न प्रयत्नशील छन् केही उत्साही युवा ।

६ जना युवाहरू थानकोटबाट चार किलोमिटर पश्चिमोत्तरमा रहेको सिरानचौरमा एक वर्षअघि खोलेको धुनीबेँसी गाई कृषि फार्म प्रालि (दुग्ध उद्योग)लाई मुलुककै नमुना फार्मको रूपमा विकास गर्न दिलोज्यान दिएका हुन् बाह्रखरी डट कमले खबर लेखेको छ । ।

सरकारी जागिर छाडेर गाई स्याहार्दै
दुई वर्षअघिसम्म बनेपाका रामकुमार खत्रीको विश्वास र भरोसा भनेकै नेपाली सेनाको जागिर थियो ।

सरकारी सेवाबाट महिनावारी आउने तलब नै उनको गृहस्थी चलाउने माध्यम थियो । र, सेनाबाट सेवानिवृत्त भइसकेपछि व्यापार–व्यवसाय गर्ने उनले कहिल्यै सोचेका थिएनन् ।

तर, एकाएक उनको मनस्थिति बदलियो । सरकार–माओवादी सशस्त्र सङ्घर्ष उत्कर्षमा पुगेका बेला ०६० सालमा सेनामा प्रवेश गरेका थिए । ०७३ मा आइपुग्दा मुलुकको परिस्थिति सङ्लिइसकेको थियो ।

सेनाको जागिरसँग एकाएक मोह भङ्ग भयो । ‘ख’ श्रेणीको उपदान लिएर उनले जागिरबाट हात धोए र गाईको स्याहारमा जुटे । बन्दुक चालकबाट गाईपालकमा उनको परिचय ‘बढुवा’ भएको छ ।

उनको मात्रै होइन, चिरञ्जीवी भण्डारीको कथा पनि उस्तै छ । उनी पनि उपदान लिएर खत्रीकै बाटोमा हिँडेका थिए ।

जागिर छाडेपछि कता जाने भनेर लक्ष्य अझै तय भइसकेको थिएन । त्यतिबेला विपन्न, सेवानिवृत्त र हातमा रोजगारी नभएको उपयुक्त गन्तव्य थियो– विदेश ।

खत्री र भण्डारीको सपना विदेश जाने थिएन । यहीँको माटोमा पसिना बगाउनुपर्छ, श्रम, सीप रोप्नुपर्छ भन्ने थियो ।

सोच्दासोच्दै उनीहरूको मथिङ्गलमा आयो– गाई–भैँसी पालेर दूग्ध व्यवसाय शुरू गर्ने ।

त्यतिबेला काठमाडौँ दूधको ठूलो बजार थियो । वरपरका छिमेकी जिल्लाको दूधले काठमाडौंको माग धान्न सक्दैनथ्यो । पाउडर, पानीआदि मिसावटयुक्त दूध खाँदाखाँदा दिक्क थिए उपभोक्ता ।

यसैलाई ‘क्यास’ गर्नुपर्छ भन्ने दृढताका साथ उनीहरूले कृषि फार्म खोले र दूग्ध व्यवसाय आरम्भ गरे ।

उनीहरूलाई साथ दिने निस्किए निराजन भण्डारी, राधेश्याम पुडासैनी, मधुकर लुइटेल र दीपक लुइँटेल ।

प्रारम्भमा त्यस्ता फार्महरूसँग उपभोक्ताको चरम विकर्षण थियो । डेरी उद्योगहरूले बजार बिगारेका थिए । एकातिर, फ्याट काटेको, पाउडरलगायत अखाद्य पदार्थ मिसावटयुक्त दूध खान उपभोक्ता (ग्राहक) अभिशप्त थिए । अर्कोतिर, बजारमा विचौलियाको कब्जामा थियो । कृषकबाट सस्तोमा दूध उठाउने र बजारमा महँगो मूल्य तोक्ने उनीहरूको धन्दा भइहाल्यो । त्यसमा दूग्ध विकास संस्थानदेखि निजी डेरी उद्योगसमेत कम्मर कसेर लागेका छन् ।

यस्तो भुंग्रोमा कसरी फार्ममा हात हाल्ने ? द्विविधाग्रस्त थिए उनीहरू ।

उनीहरूले उपाय निकाले– गोेठबाट सिधै उपभोक्ताको ओठमा पुर्‍याउने । विचौलियालाई सुँघ्नसमेत नदिने ।

महँगो नै सही (अहिले उनीहरूले गाईको प्रतिलिटर रु. ८० र भैँसीको रु. १०० तथा दुवैको मिसाएको रु. ९० मा घरमै पुर्‍याउँछन्)

“त्यसरी उपभोक्ताको घरघरसम्म पुग्न सुरूमा निकै गाह्रो भयो । दूग्ध व्यसायी प्रति उपभोक्ताको विश्वास थिएन,” निराजन व्यवसाय गर्दाको शुरूआती दिन सम्झन्छन्, “फ्याट नकाटिएको र पानीको थोपो नमिसाएको दूध घरघर पुर्‍याउन थालेपछि मानिसहरूको आकर्षण बढ्दै गयो ।”

फार्म शुरू गर्दा ६ जनाले जनही बीस–बीस लाख लगानी गरेका थिए । पछि पाँच–पाँच लाख थपेर एक करोड ४२ लाख लगानी पुर्‍याएका छन् ।

शुरूमा थानकोट वरपरमात्रै दूध बेच्थे । अहिले कलङ्की, बाफल, सीतापाइलासम्मका उपभोक्ता उनीहरूका नियमित ग्राहक बनेका छन् । गाडी र मोटरसाइकलमा दूधका क्यान राखेर आफैँ उपभोक्ताको घरमा पुर्‍याउँछन् ।

प्रारम्भमा ६ वटा जर्सी गाईबाट व्यवसायको शुरू गरेका उनीहरूले एकवर्षको अन्तरालमा २० वटा गाई पुर्‍याएका छन् । एउटा गाईको बजार मूल्य ७० हजारदेखि एक लाखसम्म पर्छ ।

बजारमा गुणस्तरीय दूधको माग बढ्दै गएपछि र उपभोक्ता थपिँदै गएपछि १३ वटा मुर्रा (भारतबाट आयात गरिएका) जातका भैँसीसमेत थपेका छन्, उनीहरूले । गाईको तुलनामा भैँसीको मूल्य झन्डै दोब्बर महँगो छ । एउटा भैँसीको औसत एक लाख २० हजार पर्न पाउँछ ।

“अहिले दैनिक २२० लिटर दूग्ध उत्पादन हुन्छ र एक थोपा नरही बजारमा खपत हुन्छ,” भण्डारी अनुभव सुनाउँछन् ।

‘सरकारको नीतिले स्वरोजगार बन्न उत्प्रेरित गर्दैन’
मध्यमस्तरको आय भएका ६ जनालाई नै शुरूमा करोडमाथि लगानी गरेर व्यवसाय गर्न आँट आएन । लगानी डुब्ने भयले एक वर्ष विभिन्न फार्म चहार्दै, व्यवसायी भेट्दै व्यतीत गरे ।

च्याङ्ले (गोरखा), चितवन, पात्लेखेत (काभ्रे) नवलपरासीलगायतका जिल्ला सञ्चालित फार्म अवलोकन गरेपछि उनीहरूको आँट आयो र व्यवसायमा होमिए ।

तर, सरकारको नीति, कागजमुखी रवैयाका कारण उनीहरूलाई शुरूमै निराशा हात लाग्यो । “कहिले योे प्रतिवेदन तयार पार, कहिले त्यो कागज लिएर आइजो भन्दै सरकारी निकायले झुलाएमात्रै । अनुदान होइन, तालिम, वीज (सिमोन)लगायतमा पनि सरकारी तवरबाट कुनै सहायता पाइएन,” भण्डारी दुखेसो सुनाउँछन् ।

“सरकारले युवाहरूलाई स्वरोजगार बनाउने नीति त लिएको छ तर स्वरोजगार कसरी बनाउने ऊसँग ठोस र मूर्त योजना छैन, सरकार विदेश नजाओ त भन्छ, तर विदेश जान कसरी रोक्ने ? ऊसँग कुनै कार्यक्रम छैन,” केही समय विदेशमै पसिना बगाएर फर्किएका अर्का लगानीकर्ता मधुकर आफ्नो अनुभव सुनाउँछन् ।

नियमनकारी निकाय र संयन्त्र फितलो हुँदा कृषकलाई दिने भनिएको ऋण, अनुदान पनि गैरकृषक र विचौलियाको पोल्टामा परेको उनको दाबी थियो ।

“फार्म नै नभएका, अनुदान लिनका लागिमात्रै संरचना तयार पारिएका कथित कृषकहरूले धमाधम अनुदान पाइरहेका छन्, करोडौँ लगानी गरेर बजारको माग धानिरहेको फार्मले प्रक्रिया पूरा गर्दा पनि ऋण, अनुदान पाउन सकेका छैनन्,” उनको भनाइ थियो ।

दैनिक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य
अहिले उनीहरूले ५७० रोपनी जग्गामा वार्षिक ७ लाख ८० हजार भाडा तिरेर फार्म सञ्चालनमा ल्याएका छन् ।

दुईवर्षभित्रमा नश्ल सुधार, होलिस्टिन जातका गाईहरू पाल्ने र दैनिक २२० लिटर दूध उत्पादनलाई बढाएर हजार लिटरसम्म पुर्‍याउने उनीहरूको लक्ष्य छ ।

त्यसका लागि उनीहरूले लिजमा लिएको जग्गामा बदामे, नेपियर, सीओथ्री, मलाटो, सुष्मा सेक्टोरिया आदि उन्नत प्रजातिका घाँसहरू रोपिसकेका छन् ।

फार्ममा दूग्ध उत्पादनको अलावा बटर, पनिर, चिस, दही, मोही आदि दूग्धजन्य पदार्थको उत्पादन पनि शुरू गर्ने र बजारीकरण गर्ने उनीहरूले बताएका छन् ।

“यी सबै उद्देश्य पूरा गर्न देशमा लगानीमैत्री वातावरण र स्वरोजगारमैत्री सरकार अत्यावश्यक छ,” अन्तिममा मधुकर सुनाउँछन् ।