धादिङको नेत्रावतीमा जीप दुर्घटना, १३ जना घाईते

972 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ पुस – धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ जलजले विहार थोकमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट सदरमुकाम धादिङबेशी हुंदै खनियावास गाउँपालिकाको डुन्डुरेका लागी छुटेको ना १ झ ७३९० नम्बरको जीप नेत्रावती गाउँपालिकाको जलजले विहार थोकमा मंगलबार दिउँसो ३ वजे तिर दुर्घटना हुंदा १३ जना घाईते भएका हुन । जिप सडक देखि १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाईते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना लाई हेलिकप्टर बाट र एक जना लाई एक्बुलेन्स मार्फत उपचारका लागि काठमाण्डौं लगिएको छ ।
गम्भिर घाईतेहरुलाई उपचारका लागि नेपाली सेनाको नाईटभिजन हेलिकप्टर र सम्मिट एयरको निजी हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको हो । जिल्ला अस्पतालमा ल्याईएका घाईतेहरुलाई सेनाको नाईटभिजन हेलिकप्टरबाट साँझ ६ः१५ बजे काठमाडौ लगिएको हो । यस अघि दुर्घटना स्थलबाट २ जना घाईते लिएर आएको सम्मिट एयरको हेलिकप्टरले सदरमुकामबाट अरु २ जना समेत गरी जम्मा ४ जना घाईतेलाई काठमाडौ लगेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए ।
दुर्घटनामा परि घाईते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ का बर्ष ३६ की बिमला परियार,नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३६ बर्षका बाबुरामप्रसाद रिजाल,खनियाबास गाउँपालिका वडा नम्बर ४ का २० बर्षका शिल्पा तामाङ,सोही ठाउँका २० बर्षका शंकर तामाङ,नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का २४ बर्षका कपिल खनाल,रुवीभ्याली गाउँपालिका वडा नम्बर ६ को ५४ बर्षका कुमार लामा रहेका छन् । यसै गरी जिल्लाकै रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का २८ बर्षका बुद्धि लामा,रुवीभ्याली गाउँपालिका वडा नम्बर ६ का बर्ष २८ का दुलाल तामाङ र खनियावास गाउँपालिका वडा नम्बर ४ का ३४ बर्र्षीय लिलाकुमारी तामाङ,रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ बस्ने का २४ बर्र्षीया मुन्डी तामाङ, सोहि स्थानको बर्ष २४ कि रेसा तामाङ,रेसा तामाङ को छोरा बर्ष ५ को श्याम तामाङ र सोहि स्थान बस्ने बर्ष ४० कि शुसी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ग्रामीण सडकमा चल्ने जिपमा १२ जना यात्रु अट्ने भएपनि क्षमता भन्दा धेरै यात्रु लिएर जिपहरु चल्ने गर्दछन ।
दुर्घटना स्थल सदरमुकाम धादिङबेसीबाट डेढ घण्टाको यात्रा पछि पुगिन्छ । स्थानीयवासी रेडक्रसकर्मी तथा प्रहरीले उद्धार गरि घाईतेहरुलाई धादिङबेसी ल्याईएको थियो । उद्धारगरी ल्याईएका घाईतेलाई काठमाण्डौं लैजान निजी हेलिकप्टरले नमानेपछि नेपाली सेनाको हेलिकप्टर मगाएर सांझ अवेर मात्र घाईतेहरुलाई काठमाण्डौं लगिएको हो ।