किरण आचार्य
काठमाडौं / बाबुबाजे काठमाडौंको खाल्डोभन्दा टाढा कहिल्यै गएनन् । धादिङबाट तरकारी बोक्यो, काठमाडौं झ¥यो अनि कालीमाटी पुगेर बेच्यो अनि फर्कियो । दैनिकी योभन्दा नवीनतम र सम्झनायोग्य कहिल्यै भएन । तर, अबका १० महिनामा अर्जुन अर्यालको जीवनले कोल्टे फेर्नेछ । उनीमात्रै होइन, धादिङ र मकवानपुरका अरु २ सय तन्नेरी कृषकको दैनिकी पनि कम रोचक हुनेछैन । आफ्नै क्षेत्रको तालिम लिन उनीहरू निःशुल्क इजरायल भ्रमण जान लागेका छन् ।
“इजरायल जाने अवसर पाउँदा निकै खुसी छु, यो हाम्रा लागि गजबको अवसर हो,” बिहीबार अर्याल भन्दैथिए, “सीप सिकेर नेपालकै माटोमा अझ व्यावसायिक काम गर्नेछु ।” प्रविधि प्रयोग गरी व्यावसायिक तरकारीखेती गर्ने तालिम भएकाले नेपालमा उपयोगी हुने उनको भनाइ छ ।
साना किसान विकास बैंकको पहलमा २ सय साना कृषक युवा कृषि प्रणाली सिक्न इजरायल जान लागेका हुन् । नेपाल फर्किएर व्यावसायिक कृषिमा संलग्न हुने सर्तसहित उनीहरूले १० महिने तालिम लिनेछन् । पहिलो चरणमा साउनभित्रै धादिङ र मकवानपुरका ५५ युवा इजरायल जानेछन् । चितवन, नवलपरासी, झापा, इलाम, मोरङ र सुनसरी गरी थप ६ जिल्लाका अन्य १ सय ४५ कृषक साउन र भदौभित्र इजरायल पुगिसक्नेछन् ।
“नेपालको कृषिमा युवा संलग्नता बढाउन यो कार्यक्रम फलदायी हुनेछ,” बैंक अध्यक्ष खेमबहादुर पाठकले भने, “नमुनाका रूपमा २ सय युवालाई पठाउन थालिएको हो, कार्यक्रम सफल भए यो संख्या १ हजार पुग्नेछ ।”
१० महिने तालिम सकेर नेपालमै कृषि गर्ने सर्त पूरा गराउन बैंकले प्रतिबद्धता जनाएपछि मात्र इजरायली दूतावासले सहमति जनाएको हो । तालिममा सहभागी हुन साना किसान कृषि सहकारी सदस्यका छोराछोरी, कुनै विषयमा १०+२ उत्तीर्ण र उमेर २२ देखि ३० वर्षको बीचमा हुनुपर्ने प्रावधान राखिएको छ । तालिम लिएर फर्केका प्रशिक्षार्थीलाई व्यावसायीक कृषि परियोजना सञ्चालन गर्न बैंकले सहुलियत ऋण सुविधासमेत दिनेछ ।
नेपाली युवालाई इजरायलको नेगभस्थित आराभा अन्तर्राष्ट्रिय कृषि तालिम केन्द्र (एआईसीएटी)मा तालिम दिइने दूतावासले जनाएको छ । सहभागीलाई साताको एकदिन सैद्धान्तिक र पाँच दिन अनुसन्धानमुखी प्रयोगात्मक काममा सहभागी गराइनेछ । प्रयोगात्मक काम गरेबापत उनीहरूले इजरायली मापदण्डअनुसार पारिश्रमिकसमेत पाउनेछन् ।
“यस्ता तालिमबाट साना कृषक परिवारका विद्यार्थीमा सीप तथा क्षमता अभिवृद्धि भई नेपालकै कृषि क्षेत्रका लागि महत्वपूर्ण योगदान पुग्नेछ,” दूतावास र बैंकद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ । नेपालका लागि इजरायली राजदूत खनान गोडेरले इजरायलको कृषि विकासबाट नेपालले सिक्नुपर्ने बताउँदै आएका छन् ।
कुल जनसंख्याको ३ प्रतिशतमात्र कृषिमा संलग्न रहेर पनि निर्यात गर्न सक्षम देश भएकाले इजरायलबाट नेपालले सिक्ने कुरा धेरै छन् । मरुभूमिमा समेत बाहिरबाट माटो लगेर आधुनिक कृषि थालेको इजरायलले सिँचाइ प्रविधि, खेती र व्यावसायीकरणमा उल्लेख्य सफलता हासिल गरेको छ । व्यक्तिगत रूपमा इजरायल गएर फर्केका युवाले काठमार्डौ उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा व्यावसायिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।
(कारोबर दैनिकबाट)