रेडियो धादिङको ११ औं बार्षिकोत्सव

2213 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ,२१ पुस – रेडियो धादिङकोे ११ औं बार्षिकोत्सव पञ्चैवाजा प्रतियोगिताका साथ शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको पञ्चैवाजा प्रतियोगितामा ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ को सरस्वती पञ्चैवाजा समूह पहिलो,युवा सांस्कृतिक उत्थान पञ्चैवाजा समूह वेलकोटगढी नगरपालिका ११ दोश्रो र ब्रमयानी पञ्चैवाजा समूह नीलकण्ठ १० तेश्रो भएका छन् । पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दमाहा ठोकेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
ग्रामीण सञ्चार सहकारी संस्था लि. धादिङका अध्यक्ष गुरुप्रसाद वुर्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता खनाल हुनुहुन्थ्यो । कार्यक्रमलाई धादिङ क्षेत्र नम्बर १का सांसद खेम लोहनी, प्रदेश सभाका सांसद एवम ग्रामीण संचार सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र पाण्डे, पुर्व सांसद पुष्पबिक्रम मल्ल,रामनाथ अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, पुर्व मन्त्री बुद्धिमान तामाङ,धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे लगायतले सम्वोधन गर्नु भएको थियो ।  पञ्चैवाजा प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि खनालले पहिलो,दोश्रो र तेश्रो हुनेलाई क्रमश २० हजार, १५ हजार र १० हजार नगद र प्रसंसापत्र प्रदान गर्नु भएको थियो । प्रतियोगितामा १२ वटा समूहको प्रतिस्पर्धा रहेको थियो ।
पञ्चैवाजा प्रतियोगिता शुरु हुनु अघि धादिङबेसी वजारमा वाजागाजा सहितको झाँकी प्रदर्शन गरिएको थियो भने रेडियो सञ्चालनमा रहेको डाक्टर बिद्यासागर रेशमी मगरको शालिक अनावरण र उनको स्मृतिमा निर्माण गरिएको सञ्चार भवनको उद्घाटनपनि गरिएको थियो । डाक्टर बिद्यासागरको २०७२ को भुकम्पका वेला राजधानीको वालाजु्मा घर भत्किएर मृत्यु भएको थियो । डाक्टर बिद्यासागरको सम्झनामा उनका परिवारले रेडियो धादिङ संचालनका लागि भवन निर्माण गर्न चार आना र सोही भवनसंगै डाक्टर बिद्यासागरको शालिक निर्माणका लागि जग्गा उपलव्ध गराएपछि ग्रामीण सञ्चार सहकारी संस्थाले भवनको निर्माण गरि सो भवनको नाम डाक्टर बिद्यासागर स्मृति संचार भवन नामाकरण गरिएको हो ।
लोप हुने अवस्थामा पुग्न लागेको सांस्कृतिक पहिचानको संरक्षण र प्रचार प्रसारका लागि प्रतियोगिताको आयोजना गरिएको रेडियो धादिङले जनाएको छ । २०६५ सालमा पनि रेडियो धादिङले पञ्चैवाजा प्रतियोगिताको आयोजना गराएको थियो ।कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष एवम अर्माक एसिया प्यासिपिकका उपाध्यक्ष सुवाष खतिवडाका साथै जिल्लाका विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि,विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख,विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको पनि आतिथ्य रहेको थियो ।