बिकटको बस्ती चोतेसमा नयाँ बिद्यालय भवन

1166 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ पुस – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ चोतेसमा निर्माण गरिएको २ कोठे विद्यालय भवन र बाल,अपाङ्गता,किशोरी मैत्री ३ कोठे शौचालय र खानेपानी योजना मंगलबार एक कार्यक्रमका विच समुदायलाई हस्तान्तरण गरिएको छ ।चेपाङ समुदायको वसोवास रहेको चोतेस दक्षिणी धादिङको विकटमा रहेको बस्ती हो ।
प्रयत्नशिल सामुदायिक समाज नेपाल (प्रयास नेपाल)को साझेदारीमा युनाइटेड मिसन टु नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बागेश्वरी आधारभूत बिद्यालयको भवन, शौचालय र खानेपानी योजना मंगलबार हस्तान्तरण गरिएको हो ।
वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्य तथा बिद्यालय व्यवस्थापन समितिका हर्कबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख शिव रेग्मी,जिल्ला आयोजना कार्यान्वयन(शिक्षा)ईकाई का प्रमुख नवराज खतिवडा ,वडाध्यक्ष टंकबहादुर थापा,युनाईटेड मिशन टु नेपाल (यूएमएमन) का टीम लिडर शिव अधिकारी लगायतको आतिथ्य रहेको थियो ।
नयाँ भवन निर्माण भएपछि ५५ जना चेपाङ बालबालिकाहरुले सुरक्षित बालमैत्री कक्षा कोठामा बसेर अध्ययन गर्ने वातावरण सिर्जना भएको प्रधानाध्यापक बुद्धिमाया चेपाङले बताईन । बिद्यालय भवन निर्माण गर्न २७ लाख ४७ हजार ५ सय ३० रुपैयाँ र शौचालय तथा खानेपानी निर्माणमा ४ लाख ८९ हजार ५ सय पैतिस रुपैयाँ खर्च भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम गाउँपालिका अध्यक्ष डल्लाकोटीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई बिद्यालय हस्तान्तरण प्रमाण पत्र उपलव्ध गराएका थिए । गाउँपालिका अध्यक्ष डल्लाकोटीले अब हरेक अभिभावकहरुले बालबालिकालाई समयमा नै बिद्यालय पठाउन र शिक्षकहरूले पनि बालबालिकालाई बालमैत्री र बोध सहित सिकाई हुने तरिकाले पढाउन आग्रह गरेका थिए । बिद्यालय उमेर पुगेका बालबालिकालाई बिद्यालय नपठाए तिनका अभिभावकहरुलाई गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुबिधा रोक्का गरिने अध्यक्ष डल्लाकोटीले चेतावनी दिए । गाउँपालिकाले गाउँलाई मदिरा प्रयोगमा बन्देज लगाएकाले कोही कसैले स्थानीय स्तरमा उत्पादन तथा प्रयोग गरेमा यस्तो कार्य गैर कानुनी हुने भएकोले यस बिषयमा सबैलाई सचेत रहन र वडा तथा स्थानीय प्रहरी ईकाईलाई नियमित अनुगमन गर्न पनि अध्यक्ष डल्लाकोटीले निर्देशन दिए । नवनिर्मित बिद्यालय भवन बाल मैत्री अपाङ्गमैत्री र शौचालय लौङ्गिक मैत्री छ । भूकम्प प्रतिरोधात्मक नयाँपक्की भवन पाएकाले यहाँका विद्यार्थी, शिक्षक र अभिभावक र जनप्रतिनिधिहरु समेत खुशि भएका छन् ।
‘यस अघिको बिद्यालयमा कक्षा कोठाको अभाव हुंदा ४ वटा कक्षा एकै कोठामा सञ्चालन भैरहेको थियो, नयाँ सुरक्षित भवन निर्माण भएपछि कक्षा कोठामा पि फर्म,कार्पेट कुशन सहितको बसाई व्यवस्थापन,बालमैत्री शौचालय र खानेपानी एकै पटक पाउँदा धेरै खुसी लागेको छ’–बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले वताए ।
चेपाङ्गहरुको बाहुल्यता रहेको जिल्लाकै विकटको बस्तिमा पुर्वाधार निर्माण गर्ने तर्फ कसैको आँखा पुगेको थिएन आज सहयोगी संस्थाले बिद्यालय निर्माण गरेर ठुलो गुन लगाएको भन्दै वडाध्यक्ष थापाले खुसी व्यक्त गरे ।
वाल विकास देखि कक्षा ५ सम्मको पढाई हुने र चेपाङ बालवालिकामात्र पढ्ने यस बिद्यालयमा दरवन्दीको शिक्षक एक जना मात्रै रहेका छन । विद्यालयमा यस बर्ष देखि गाउँपालिकाकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने अन्य एक जना गाँउलेहरुलेनै श्रोत जुटाई शिक्षक राखेर कक्षा संचालन भई रहेको अभिभावक भीम चेपाङले जानकारी दिए ।