भैरवी मन्दिर संरक्षण गर्न ज्ञानमहायज्ञको तयारी

933 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– नीलकण्ठ नगरपालिका ६ धादिङस्थित भैरवी मन्दिरको पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धनका उद्देश्यले ज्ञानमहायज्ञको तयारी गरिएको छ । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिले माघ १३ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आयोजना गरिएको समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । नीलकण्ठ नगरपालिका ६ सुनौलाबजार, मैदानस्थित हुने महायज्ञमा सहभागिताको अनुरोध गर्दै पोखरामा गरिएको भेलामा धादिङको गरिमा र महिमालाई उचोराख्न धादिङबाट प्रचार गर्न आएका टोली सदस्य उद्धव रिजालले अनुरोध गरे ।

धादिङ पोखरा सम्पर्क समाजमार्फत महायज्ञमा सहभागि हुन अनुरोध गर्दै तुलादान, भूमिदान, चौरासी, सामूहिक व्रतबन्ध तथा आर्थिक दानबाट पर्यटन विकासका पूर्वाधार निर्माण गरिने प्रचार प्रसरकालागि पोखरा आएका विष्णु नेपालीले जानकारी दिए । पण्डित कपिलदेव भट्टले वाचन गर्ने महायज्ञमा नीलकण्ठ ६ का सबै आमा समूह सहआयोजक रहेको जानकारी प्रचार प्रसार टोलीका सदस्य नुरकुमार थापाले जानकारी दिए । महायज्ञमा पंण्डित चोलेन्द्र रिजालको भागवत पाठपारायण हुने समितिले जानएको छ । महायज्ञबाट राष्ट्र शान्ति, लोक कल्याण, दिवंगत आत्माको मोक्ष प्राप्तिको अपेक्षा गरिएको भन्दै पोखरामा रहने धादिङेलाई उपस्थित हुन टोलीका सदस्य लीला श्रेष्ठले अनुरोध गरे । धादिङका दिव्य दर्शन टेलिभिजन, रेडियो धादिङ, रेडियो विहानी, नीलकण्ठ एफएमबाट प्रत्यक्ष प्रसारण तथा प्रचार हुने महायज्ञमा १ लाखदेखि १० लाखसम्म दान गर्ने व्यक्ति वा समूहलाई भव्य स्वागत, ३ पुस्ते शिलालेखमा नामांकरण तथा सम्मान पत्रले सम्मान गरिने छ । प्रचार टोलीले मंगलबार पोखरामा विभिन्न व्यवसाय तथा मजदुरी गर्नेलाई धादिङेलाई भेट गर्दै १ हजार रुपैयाँदेखि १० लाखसम्मको सहयोग भन्दापनि सम्मानपत्र र पर्यटनमा ध्यान दिन अनुरोध गरेका थिए । जिल्लामा उपस्थित भई आफ्नो गाउँघरको संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड दिन टोलीका सदस्य विष्णु नेपालीले अनुरोध गरे । टोलीले सहयोगको अनुरोध गर्दै भैरवी मन्दिर संरक्षण समितिको नाममा मेघा बैंक धादिङमा रहेको खाता नं ०१८–००–१००३–०३४७ मा जम्मा गर्नसमेत अनुरोध गरेको छ ।