बूढीगण्डकी आयोजनाद्वारा १९ अर्ब मुअब्जा वितरण

1032 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ ।

आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।

चालू आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको उनले बताए । आयोजना प्रमुख कार्कीले मुआब्जा वितरण गर्न बाँकी रहेका डुबान प्रभावितलाई पनि चालु आर्थिक वर्षमै मुआब्जा बितरण गरिसकिने जानकारी दिए ।

उनले चालू आव २०७५÷७६ मा प्राप्त रु १८ अर्बले गोरखा र धादिङका सबै प्रभावितलाई रकम वितरण गरिसकिने जानकारी दिए । “मुअब्जा वितरणका लागि रकमको अभाव छैन,” आयोजना प्रमुख कार्कीले भने, “आरुघाट र खहरे क्षेत्रबाहेक मुअब्जा निर्धारण भएका सबै ठाउँका प्रभावितलाई मुआब्जा वितरणको काम सम्पन्न हुन्छ ।” अहिले प्राप्त रकमले डुबान प्रभावित क्षेत्रका बासिन्दाको घरगोठ र बोटबिरुवाको समेत मुआब्जा वितरण गर्न रकम अभाव नहुने आयोजना प्र्रमुख कार्कीको भनाइ छ ।

“जमीनको मुआब्जा वितरण गरिसकिएका डुबान क्षेत्रका बासिन्दाका घरगोठ र बोटबिरुवाको मुआब्जा बाँड्ने तयारी पनि गरिरहेका छौं,” उनले भने, “त्यसका लागि प्राप्त रकमले पुग्छ भन्ने हाम्रो अनुमान छ ।”

आयोजनाले मुआब्जा वितरणको काम तीव्र गतिमा अगाडि बढाएको भए पनि प्राविधिक समस्याका कारण केही ढिलाइ भएको उनले बताए । “मालपोत र नापी कार्यालयमा पर्याप्त कर्मचारी छैनन्, यहाँबाट फाइल छिटो अघि बढाए पनि त्यहाँ कामको चापका कारण सोचेजस्तो गतिमा काम अघि बढ्न सकेको छैन,” प्रमुख कार्कीले भने । अहिले आयोजनाले गोरखातर्पm साबिकको अश्राङ, बोर्लाङ र धावातर्फका डुबान प्रभावितलाई मुआब्जा वितरण गरिरहेको पनि उनले बताए । आयोजनाले डुबान पर्ने आरुघाट, आर्खेत, खहरे क्षेत्रको मुआब्जा निर्धारण गर्न भने अझै सकेको छैन । “यो वर्षभित्र मुआब्जा निर्धारण गर्न बाँकी रहेका सबै ठाउँको मुआब्जा निर्धारण गर्ने तयारी पनि भइररहेको छ,” अयोजना प्रमुख कार्कीले भने ।

प्रभावितसँग छलफल गरी मुआब्जा निर्धारणका लागि लगभग सहमति भइसकेको उनको भनाइ छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेकाले आयोजनाले अब तत्कालै पुनर्वास र पुनस्र्थापनाको कामलाई अगाडि बढाउने प्रमुख कार्कीले जानकारी दिए ।