हिन्दुङ्गको पहिरोमा हराएकाहरुको खोजी जारी

1264 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रुवीभ्याली, – धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा पहिरोमा परेर आईतबार विहान देखि हराईरहेकाहरुको खोजी कार्यलाई तिव्र पारिएको छ । सोमबार घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा पहिरोले पुरिएको ओडारको भित्र पस्ने बाटो वनाउन ढुंगा फुटाउने कार्य गरिरहेको छ ।
लगातारको हिमपातपछि खसेको पहिरोले ओडार पुरिएपछि आईतबार विहान देखि हिन्दुङ गाउँका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराईरहेका छन् । हराईरहेका दुवै जनाकोे अवस्था अझै सम्म अज्ञात रहेको छ । भेडा वाख्रा चराउन जंगल गएका उनिहरु लगातारको हिमपात पछि ओडारमा बसेको अवस्थामा आइतबार बिहान ओडार भन्दा माथिको ठूलो चट्टान फुटेर पहिरो गएपछि २ सय ६० वटा भेडा र च्याङग्रा सहित हराईरहेका हुन ।
हराईरहेका व्यक्तिको खोजीका लागि जिल्ला नेपाल प्रहरी, शशस्त्र प्रहरी बलका ३० जना सुरक्षाकर्मी र स्थानीयवासी जुटेका छन् । उद्धारका लागि खटेको टोलीले सोमबार र मंगलवार दिनभर ओडार वाहिरको ढुंगा पन्छाउने र वाटो वनाउन ढुंगा फुटाउने काम गरेको शशस्त्र प्रहरी वल धादिङबेसी हेर्डक्वार्टर गणका गणपति प्रहरी नायव उपरिक्षक दर्शन गिरीले जानकारी दिनु भयो । पहिरोमा निकै ठुला ढुंगा खसेकाले फुटाउन र पन्छाउन समेत निकै कठिनाई रहेपनि टोलीले सांझ अवेर सम्म उद्धार कार्य जारी राखेको र रातीको समयमा सो ठाउँमा उद्धारको कार्य गर्न निकै कठिनाई हुने भएकाले उद्धारमा खटिएको टोलीले बुधवार विहान ६.३० वजे देखिनै ढुंगा फुटाउने, पन्छाउने कार्यलाई निरन्तरता दिने पनि प्रनाउ गिरीले वताउनु भयो ।
ढुंगा पन्छाउने क्रममा मंगलबार ३ वटा मरेको च्याङग्रा भेटिएको वताईएको छ । ओडार भित्र फसेका व्यक्ति र भेडा च्याङग्रा जिवितै हुन सक्ने स्थानीयको दावी छ । ओडारको वाहिर पहिरो खसेको र भित्र फराकिलो ठाउँ भएकाले भित्र रहेकाहरु जिवितै हुन सक्ने भन्दै खोजी कार्यलाई तिव्र पारिएको हो । घटना पछि पुर्व गृहमन्त्री बुद्धिमान तामाङ, प्रदेश सभाका सांसद जगत सिम्खडा,धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नेपाल प्रहरीका कार्यालय प्रमुख एसपि डम्बरवहादुर बिक, शशस्त्र प्रहरी बल धादिङका कार्यालय प्रमुख डिएसपि दर्शन गिरी, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल,रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरुङ तामाङ लगायतको टोलीले घटनास्थलको स्थलगत अवलोकन गरेका छन ।