जन्त जान रोकेपछि मालिक्नीको हत्या गरेको आरोपमा सन्तोष पक्राउ

1235 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको वेनिघाटरोराङ गाउँपालिकाको महादेवस्थान ताल्ती घर भएका १४ बर्षिय सन्तोष आलेमगर काम गर्न बसेको घरको मालिक्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या गरेको आरोपमा सोही घरमा काम गर्न बसेका सन्तोष पक्राउ परेका हुन । यही माघ १४ गते राति थापाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीका १४ वर्षीय  आलेमगरले गरेको पुष्टि भएको हो । आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी थापाको हत्या गरेको सन्तोषले स्वीकार गरेका छन् ।

सांकेतिक तस्विर

घटनाक्रमअनुसार माघ १४ गते बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका सन्तोषलाई थापाले रोकेकी थिइन् । बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए । मगरको भनाइ उद्धृत गर्दै प्रंहरी प्रवक्तासमेत रहनुभएका रेग्मीले भन्नुभयो, “राति ९ः४५ बजेतिर जन्तबाट फर्किदा आमा निदाउनुभएको थियो, मैले घरको माथिल्लो तल्लाको बार उप्काएर भित्र छिरेर तल झरी खुकुरीले छप्काएको हो”, मगरले दाप सहितको खुकुरी आफू सुतेको कोठाको पछाडि रहेको खोरमा राखेको पाइएको छ । उनले थापाको हत्यापछि रगत लागेको हातखुट्टा धोएर सुतेको बताएको रेग्मीले जानकारी दिनुभयो

समय–समयमा आफूलाई गाली गर्ने गरेको भन्दै आवेगमा आएर हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा वयानका क्रममा मगरले बताएको प्रवक्ता रेग्मीले बताउनुभयो । दश महीनाअघि घरको काम गर्न मगरलाई थापा परिवारले राखेको थियो । रुपाको छोरी ज्वाइँले खोजेर सन्तोषलाई  काम गर्न पठाएका थिए । घरमा रहेका कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्न बसेका सन्तोषले खुकुरी प्रहार गर्दा टाउकाको चार ठाउँमा र पाखुराको एक ठाउँमा चोट लागेको थियो ।

थापाको जेठो छोराले घरको रेखदेख गर्ने भए पनि कामका सिलसिलामा जिल्ला बाहिर गएका बेला सो घटना भएको थियो । थापाको श्रीमान घरमा नरहेको बेला सन्तोषले उनको हत्या गरेका थिए । घटना स्वीकार गरे पनि अन्य व्यक्ति संलग्न भए/नभएको अनुसन्धान भइरहेको रेग्मीले बताउनुभयो । अनुसन्धानका लागि प्रहरीले अन्य पाँचलाई पनि नियन्त्रणमा लिएको राससले समाचारमा लेखेको छ ।