भत्ताको रकम लैगिक हिंसा निवारण कोषलाई हस्तान्तरण

1317 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-कुनै पनि तालिम गोष्ठिमा जाँदा आयोजकले दिएको भत्ता रकम तपाई के गर्नु हुन्छ ? चुपचाप खल्तीमा हाल्नु हुन्छ र आवश्यकता अनुसार खर्च गर्नुहुन्छ होला ?  नेपाल प्रहरीका एसपि डम्बर वहादुर विकले धादिङमा जिल्ला प्रहरी कार्यालयको कार्यालय प्रमुख भएर १० दश महिनाको अवधिमा जे जति कार्यक्रममा पुगेर भत्ता लिनु भयो त्यो भत्ता रकम खुत्रुकेमा जम्मा पारेर राखि जिल्लाबाट सरुवा भई जाने वेलामा सामाजिक कार्यमा खर्च गर्ने गरी हस्तान्तरण गरेर जानु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक डम्बरबहादुर बिकले आफूले धादिङमा बहाल रहेको अबधीमा कुनै पनि तालिम गोष्ठिमा जाँदा आयोजकले दिएको भत्ता बापतको रकम जिल्ला लैंगिक हिंसा निवारण कोषलाई हस्तान्तरण गर्नुभएको हो ।
२०७५ बैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा सरुवा भइ आएपछि उहाँले जिल्लामा रहँदा  आफूले प्राप्त गरेको भत्ताबापत रकम खुत्रुके मा जम्मा गरि राखेर सरुवा भइजानलाग्दा हस्तान्तरण गरिएको थियो ।
प्रहरी उपरिक्षक बिकले जम्मा गर्नु भएको  खुत्रुके प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको रोहबरमा फोर्दा ४१ हजार ३ सय ९९ रुपैयाँ  रहेकोले सो रकम लैंगिक हिंसा निवारण कोषमा जम्मा हुने गरी एसपि विकले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।
सानैमा आफ्नो आमाको मृत्यु भएपछि टुहुरो भएका विकले लैंगिक हिंसा पीडित महिलाको दर्दनाक अवस्था देखेको र आफूलाई सरकारले तलब भत्ता खान पुग्ने पैसा दिएकोले भत्ताको रकम राम्रो काममा लगाउन यसरी जम्मा गरिएको  बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा महिलाहरु सेवाग्राही  पीडित भएर आउने भएकोले सोही अनुसार उनिहरुको सुरक्षाका लागि काम गर्न प्रहरी कर्मचारीहरुलाई आग्रह गर्नुभयो । एसपि विक धादिङबाट सरुवा भएर महाराजगन्ज जानु भएको छ भने धादिङमा काठमाण्डौंबाट राजकुमार वैदवार आउनु भएको छ ।