चरेश बनाउने पाउडर सहित गजुरी बाट दुई जना पक्राउ

793 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ फागुन  – धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ देउरालीबाट प्रतिबन्धीत लागु औषध चरेस बनाउन प्रयोग गरिने ९ किलोग्राम पाउडर सहित बिहीवार दुई जना पक्राउ परेका छन । पक्राउ परेका व्यक्तिले चढेर आएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागु औषध चरेस तथा गाँजा नियन्त्रणका लागि बिशेष अभियान संचालन गर्दै आएको धादिङको प्रहरीले विशेष  सुराकीको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।  मोटरसाईकलमा आएका दुई युवा माथि शंका लागेर खानतलासी गर्दा  उनिहरुको साथबाट प्रतिबन्धीत लागु औषध चरेस बनाउन प्रयोग गरिने ९ किलोग्राम पाउडर भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले बताए ।
बा २५ प ५२९३ नम्बरको पल्सर मोटरसाइकलमा पृथ्वीराजमार्गबाट गाउँतर्फ जांदै गरेको अवस्थामा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ सुन्दरनांगीका ३५ वर्षीय विकास तामाङ र सोही स्थानका मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई प्रहरीले लागु औषध वनाउने धुलो र मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ गरिएकादुबै जनालाई लागु औषध नियन्त्रण सम्बन्धी ऐन अनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । यस अघि माघ २७ गते धादिङको गजुरी नजिकैबाट ३ सय ६० किलो चरेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
तस्बिर सौजन्य – इलाका प्रहरी कार्यालय गजुरी