धादिङमा शुरु भयो जिल्लास्तरीय डण्डीवियो प्रतियोगिता

932 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ माघ – लोप हुने अवस्थामा पुगेको नेपाली मौलिकता बोकेको डण्डीवियो खेलको संरक्षण र प्रचार प्रसार गरी यस्को महत्वका वारेमा जानकारी दिने उद्धेश्यले धादिङमा जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता शुरु भएको छ ।
नेपाल स्काउट धादिङ र नेपाल डण्डीवियो संघको आयोजनामा आईतबार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेससीमा माध्यमिक बिद्यालय स्तरीय डण्डीवियो प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा जिल्लाका ४१ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरु सहभागी भएका छन् ।
आईतबार विहान सदरमुकाम धादिङबेसीमा विभिन्न बिद्यालयका बिद्यार्थी र धार्मिक एवम जातीय संघ संगठनका प्रतिनिधिहरुले वजारमा पञ्चैवाजा,भजन सहितको झाँकी निकालेका थिए । पुछारवजारबाट शुरु भएको सांस्कृतिक झाँकी वजार क्षेत्र परिक्रमा गरि टुँडिखेल सम्म पुगेको थियो । झाँकीमा उत्कृष्ठ प्रदर्शन गर्ने वालमन्दिर माविलाई प्रथम, एडभान्स एकेडेमीलाई दोश्रो, चिल्ड्रेनपार्क माविलाई तेश्रो र सुनगाभा एकेडेमीलाई सान्त्वना पुरस्कार दिईएको थियो ।
प्रतियोगिताको उद्घाटन धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा धादिङका प्रम्ुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक राजकुमार वैदवार, जिल्ला शिक्षा विकास तथा समन्य इकाईका प्रमुख शिव रेग्मी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको आतिथ्य रहेको थियो । यसै गरी ,थांक्रे गाउँपालिकाका प्रमुख रामकुमार आचार्य, उपप्रमुख अम्बिका रुपाखेतीका साथै जिल्ला स्थित विभिन्न सरकारी कार्यालय, संघ संस्थाका प्रमुखहरु लगायतको आतिथ्य रहेको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नेपालले नेपाली समाजको मौलिक खेल डण्डीवियो लोप हुने अवस्थामा पुगेकाले यस्ता खेलको संरक्षण गर्नु आवश्यक भएको र जिल्लास्तरीय प्रतियोगिताले डण्डीवियोको प्रचार प्रसार र संरक्षणमा मद्धत पुग्ने वताउनु भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितिय हुनेले रु ३० हजार, तृतियले रु २० हजार र सान्त्वना हुने समूहले रु १० हजार नगद पुरस्कार पाउनेछन् । केही दशक अघि सम्म गाउँघरमा सबैभन्दा बढि खेलिने लोकप्रिय खेल भएपनि अहिले डण्डीवियो खेल हराई सकेको र नयाँ पुस्ताले नियम समेत जानकारी नपाएको हुंदा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठले जानकारी दिनुभयो ।