धादिङको ताल्तीमा हुवासिन सिमेण्ट उद्योगको शिलान्यास

1496 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
(ताल्ती–धादिङ) धादिङको वेनिघाट रोराङ गाउँपालिकामा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरु द्धारा स्थापना हुन लागेको हो । चिनको, सबै भन्दा पुरानो हुवासिन सिमेण्टले स्थापना गर्न लागेको उद्योगको संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुक्रवार एक कार्यक्रमका बीच शिलान्यास गर्नु भयो ।
कार्यक्रममा हुवासिन सिमेण्टको तर्फबाट चिनियाँ प्रतिनिधिहरु हुवासिन सिमेण्ट्स चाईनका अध्यक्ष छु गङ (Mr. XU Gang) र उद्योग निर्माणको जिम्मेवारी पाएको साईनोमा कम्पनीका अध्यक्ष लि यलोङ (Mr. Li Yalong ) ले सम्वोधन गर्दै हुवासिन सिमेण्ट चिनमा एक सय १२ बर्ष अघि देखि सञ्चालनमा रहेको जानकारी दिएका थिए । हुवासिन सिमेण्ट्स चाईनका अध्यक्ष छु गङका अनुसार हुवासिन सिमेन्ट नेपाल परियोजनाको रुपमा संचालनमा आउन लागेको हो ।

चिनको १० वटा प्रान्तका साथै विदेशी मुलुकहरु ताजकिस्तान र कम्वोडियामा समेत गरी अहिले एक सय ५० वटा कम्पनी संचालनमा रहेको र नेपाल परियोजना सफल भएपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगले सन २०२० को जनवरी सम्ममा उद्योग स्थापना कार्य सम्पन्न गरी उत्पादन दिन थाल्ने पनि गङले जानकारी दिनुभयो ।

सिमेन्ट उद्योगमा चिनीयाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने वताईएको छ । अहिले कम्पनीमा नेपाली लगानीकर्ताहरुको प्रतिनिधित्व बैद्य ग्रुपको तर्फबाट सुरज बैद्यले र चिनीयाँ लगानीकर्ताहरुको प्रतिनिधित्व हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेण्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको छ ।
नेपालमा चिनीयाँ लगानीकर्ताको आकर्षण वढाउने उद्धेश्यले नेपाल सरकार र चिनियाँ सरकार बिच भएको भएको द्धैपक्षिय सम्झौता अनुसार नेपालमा ठुलो लगानीको सिमेण्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेण्ट बीच सम्झौता भए अनुसार उद्योगको निर्माण शुरु गरिएको कम्पनीले जनाएको छ ।
वातावरणमैत्री टनेल प्रविधिमा आधारित उद्योगको शिलान्यास गर्दै सभामुख महराले उद्योग नेपालको विकासका लागि सहयोगी हुने बताएका थिए । उद्योगबाट स्थानीय नागरिकले धेरै फाइदा पाउनेगरी रोजगारी सिर्जना गरेर उद्योग स्थापना गरिएकोमा स्थानीय तहको सरकारलाई धन्यवाद दिँदै उद्योगको दिगो सञ्चालन र यसले प्रतिफल दिनेगरी सहयोग गर्न पनि सभामुख महराले सबैलाई आग्रह गर्नु भएको छ ।
चीनका राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोडको महत्वकांक्षी परियोजनाबाट नेपालले फाइदा लिनका लागि यस किसिमको उद्योगहरु सञ्चालनको आवश्यकता भएको पनि सभामुख महराले वताउनुभयो । आंफु अर्थमन्त्री भएको बेला नेपालमा दिर्घकालिन रुपम चिनिया लगानी ल्याउका लागि पहल गरिएको पनि उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।
उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल सरकारको तर्फबाट लगानी वोर्डले स्वीकृत गरिसकेको वोर्डका प्रमुख प्रशासकीय अधिकृत महाप्रसाद अधिकारीले कार्यक्रममा वताउनुभयो । । कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेण्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिमेण्ट उद्योगले आँफुलाई चाहिने कच्चा पदार्थ स्थानीय कच्चा सामाग्रीको प्रयोग गरेर आंफै उत्पादन बढाउँदै लैजाने सम्झौता भएको पनि अधिकारीले कार्यक्रममा जानकारी दिनुभयो ।
सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने पनि कम्पनीले जनाएको छ । पहिलो पटक नेपालमा टनेल खानी प्रविधिबाट सिमेन्ट उत्पादन हुन लागेको र यो उद्योग सबैभन्दा बढी वातावरणमैत्री हुनेमा आंफु विश्वत रहेको अधिकारीले वताउनुभयो ।
उद्योग क्षेत्रका बासिन्दाका लागि पनि उद्योगले सडक,पानी,विद्युत लगायतका पूर्वाधार विकासमा समेत सहयोग गर्ने भएको छ । यस अन्र्तगत पृथ्वीराजमार्गको मलेखु देखि उद्योग रहेको स्थान सम्म मलेखुखोलाको किनारै किनार भएर सडक निर्माण गरिने छ । पर्वतीय स्रोतहरुको सदुपयोग हुने र देशले ठूलो फाइदा लिन सक्ने भएकोले यस किसिमको बैदेशिक लगानी भित्र्याएर‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन लाग्नु पर्नेमा सभामुख महराले जोड दिनु भएको छ । ह्वासिन सिमेन्ट उद्योगलाई नमुना उद्योगको रुपमा वातावरणमैत्री बनाइ नेपाल सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न लगानीकर्ताहरुलाई सभामुख महराले आग्रह गर्नु भयो ।
उद्योग शिलान्यास कार्यक्रममा संघीय संसदका सांसदहरु खेम लोहनी, भूमि त्रिपाठी, ३ नम्बर प्रदेशका आन्तरिक ममला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सभाका सांसद राजेन्द्रप्रसाद पाण्डे,लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारी लगायतले शुभकामना दिँदै सिमेन्ट उद्योग सञ्चालनका लागि सबै तवरबाट सहकार्य र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
ह्वासिन सिमेन्ट उद्योगले उद्योगकै कच्चा पदार्थबाट विद्युत उत्पादन समेत गर्ने र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ ।