थानकोटबाट लागुऔषधसहित तीन जना पक्राउ

998 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ,फाल्गुन १८ – काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागुऔषध नाइट्राभेट एक हजार ८०० चक्कीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४७६ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ बाट बारा निजगढ बस्ने ३२ वर्षीय सुरेश लामालाई नियन्त्रित लागुऔषध नाइट्राभेट २६ चक्की र स्पास आठ चक्कीसहित प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ग६ख २०४२ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो । झापा कन्काई नगरपालिका–५ घर भएका २० वर्षीय सागर विकलाई पनि अवैध लागुऔषध ब्राउनसुगरसहित सोही ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।