पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

779 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

नेकपाका नेताा अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी अस्वस्थ अधिकारीलाई गत पुस २३ गतेदेखि ललितपुरको मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको भिड लागेको थियो ।

फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्त र अस्पतालको क्रिकिटल केयर सर्भिसेजका संयोजक डा.हेमराज पनेरूले दिएका छन् । शनिबार दिउँसो मात्रै डा. हेमराज पनेरु र डा. पन्तले विज्ञप्ति सार्वजनिक गर्दै बचाउन सक्ने सम्भावना न्यून रहेको बताएका थिए ।

विदेशमा रहेकी छोरी आइनपुग्दासम्म अस्पतालमा अधिकारीलाई कृत्रिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको थियो । अधिकारीे विसं १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका थिए । उनका श्रीमती ओमकुमारी र तीन छोरी छन्।

कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय राजधानीमा बस्दै आएका थिए ।

अधिकारी पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत हुन्। वि.सं. २०१७ सालमा पीएचडी गर्ने विचार गरेका अधिकारी तत्कालीन सोभियत सरकारले दिएको छात्रवृत्ति छोडेर राजा महेन्द्रको ‘कु’ विरुद्ध सघर्षमा होमिएका थिए ।

नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा थिए ।

अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन् । जीवन यात्राको नयाँँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन् ।

अधिकारीको अन्त्येष्टि आज

नेकपाले आज आइतबार विहान अधिकारीलाई श्रद्धान्जली दिने कार्यक्रम तय गरेको छ । आइतबार विहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धान्जली दिने कार्यक्रम तय गरेको नेकपा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यसलगत्तै अधिकारीको शव यात्रा गरिने र मध्यान्ह पशुपति आर्यघाटमा दाहसंस्कार हुने नेकपाले जनाएको छ ।