आज बाट एसइई परीक्षा शुरु, ४ लाख ७५ हजार परीक्षार्थी सहभागी हुदै

968 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं १० चैत –  यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा आज बाट शुरु हुंदैछ । परीक्षामा धादिङ लगायत देशभरबाट ४ लाख ७५ हजार ३ जना परीक्षार्थी  सामेल हुने भएका छन ।ति मध्ये  धादिङ जिल्लाका ५ हजार ८ सय ८५ जना बिद्यार्थीले परीक्षा दिंदैछन ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्र्तगतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ का विद्यार्थी सहभागी हुने भएका छन । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ सहभागी हुने भएका छन ।

सबैभन्दा कम प्रदेश ६ का रहेका छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षामा सहभागी हुदैछन । प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश नम्वर २ बाट ७० हजार ५ सय १८, प्रदेश नम्वर ४ बाट ४८ हजार ६३, प्रदेश नम्वर ५ बाट ७६ हजार ९ सय ८३ र प्रदेश नम्वर ७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुने भएका छन् ।

काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र कायम गरिएको छ । त्यतिकै संख्यामा केन्द्रध्यक्ष सहभागी हुनेछन । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनु्सार गत वर्ष चार किसिमको प्रश्न सोधिएको थियो । यो वर्ष प्रदेश अनुसार प्रश्नपत्र छपाई गरीएको छ , साधारणतर्फको अनिवार्य ६ वटा विषयका फरक–फरक बनाइएको अधिकारी जानकारीले दिनुभयो ।

प्राविधिक र संस्कृत तर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने छन् । परीक्षा चैत १० देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

धादिङ जिल्लाबाट ५ हजार ८ सय ५८ जना सहभागी

 माध्यमिक शिक्षा (एसईई) परीक्षामा धादिङ जिल्लाबाट ५ हजार ८ सय ५८ जना परीक्षार्थीहरु सहभागी हुंदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय धादिङले दिएको जानकारी अनुसार अघिल्लो वर्ष ६ हजार ३ सय ६२ जना परीक्षार्थीहरु सहभागी भएका थिए । परीक्षा चैत १८ गतेसम्म संचालन हुनेछ ।  परीक्षा नतिजा प्रणाली विगतका वर्षको झैं ‘ग्रेड’मा हुनेछ ।

परीक्षाका लागि जिल्लाभर २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित बनाउनका लागि २६ जना केन्द्राध्यक्ष सहित प्रत्येक परीक्षा केन्द्रमा १५/१५ जना सुरक्षाकर्मीहरु खटाइएको छ ।