स्मार्ट सिटी धादिङबेसीमा सार्वजनिक शौचालय कता छ ?

1292 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी – तपाई काम बिशेषले धादिङ जिल्लाको सदरमुकाम आउँदै हुुनुहुन्छ भने सचेत रहनु होला,सदरमुकामको मुख्य वजार क्षेत्रमा आएर दिसा पिसाव लागे कोही आफन्त, चिनजानको मान्छे वजारमा भए उसैको घर पसल तिर छिर्नुहोला, त्यति पनि नभए नजिकैको होटल तिर छिरेर आफ्नो समस्या समाधान गर्नुहोला । स्मार्ट सिटि बन्ने भनेर चर्चामा आएको जिल्लाको सदरमुकाममा एउटा पनि सार्वजनिक शौचालय छैन । धादिङबेसीको मुख्य वजार क्षेत्र भित्र एउटा पनि सार्वजनिक शौचालय नभएका कारण जिल्ला सदरमुकाममा विभिन्न काम लिएर आउने सर्वसाधारणले बर्षौ देखि सास्ती खेप्नु परेको छ ।
एक दशक अघि देखि सदरमुकामको वजारक्षेत्रमा सार्वजनिक शौचालय निर्माणको माग हुंदै आएपनि जिल्लाका कुनै पनि सरोकारवाला निकायले चासो नदेखाएको सर्वसाधरणको गुनासो छ । वजारको सबैभन्दा मान्छेको चाप रहने बिचवजार क्याम्पस चोक, मिलन टोल,सुगमटोल, पुछारवजार लगायतका वजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नभएको कारण यात्रा गरेर झरेका यात्रुहरु समस्यामा पर्ने गरेका छन । पुछारवजारको आँसीदोभान नजिकै विदेशमा रहेका नेपालीहरुको सहयोगमा सार्वजनिक शौचालय बनेको भएपनि त्यो स्थान अपायक भएको सर्वसाधरण वताउँछन ।
सार्वजनिक शौचालय नहुंदा बिशेष गरी सदरमुकामभन्दा वाहिरका गाउँबस्तीबाट जिल्लाका विभिन्न कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा अन्य कामले आएका विदेशी पर्यटक,सर्वसाधरण दिसापिसाव लाग्दा कता जाने भनेर अन्यौलमा पर्ने गरेको नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सीताराम वर्मा वताउँछन ।
जिल्लाको सदरमुकाम जस्तो महत्वपूर्ण वजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा बिशेष गरी, जेष्ठ नागरिक, अपाङ्गता भएका, नेत्रहिन लगायतका व्यक्तिहरु सबैभन्दा समस्यामा पर्ने गरेको धादिङ नेत्रहिन संघका राजु रेग्मी बताउँछन ।
सम्वन्धित निकायले कुनै चासो नदिंदा सदरमुकाममा सडक पेटी समेत अतिक्रमण गरी पसल तथा निर्माण समाग्री राखिदिंदा अपाङ्गगता भएका व्यक्तिहरु वजार क्षेत्रमा सहज रुपमा हिंडडुल गर्न समेत नपाएको, सवारी साधनको असिमित गतिका कारण वजारक्षेत्रमा आवतजावतमा समेत समस्या भएको भन्दै यस्ता बिषयलाई तत्काल सम्वोधन गरिदिन रेग्मीले सार्वजनिक रुपमा आग्रह गरेका छन । मंगलवार जिल्ला प्रहरी कार्यालय धादिङले आयोजना गरेको प्रहरी समुदाय साझेदारी कार्यक्रमको सार्वजनिक सुनुवाईमा वोल्दै रेग्मीले नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुंगाना र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक राजकुमार वैदवारको ध्यानाकर्षण गराएका हुन ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई धादिङका यातायात व्यवसायीले सहज रुपमा यात्रा गर्न नदिएको, अपमान गर्ने गरेको,बसका चालकले अपाङ्गता भएका मान्छे देखेपछि मोटर नरोक्ने गरेको, आरक्षण सिटमा सवालङ्गलाई राखेर यात्रा गराएको जस्ता बिषयमा पटक पटक गुनासो गरेपनि सुनुवाई नभएको वताएका थिए ।
सार्वजनिक सुनुवाईमा वजारक्षेत्र व्यवस्थित गर्नु पर्ने, वसपार्कबाट बसहरु चल्नुपर्ने वजार क्षेत्र भित्रको सडकको मर्मत तत्काल हुनुपर्ने, यातायातका साधन चलाउँदा चालकहरु संयमित रहनु पर्ने, सह चालकलाई सवारी हाँक्न दिन नहुने, मदिरा सेवन गरेर सवारी चलाउनेलाई तत्काल कारवाही गरिनुपर्ने, मुख्य चोक र संवेदनशिल क्षेत्रमा प्रहरी गस्ती बढाउनुपर्ने बिषयमा सर्वसाधरणले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।