सिद्धलेकमा सरकारी सुविधा लिनेले छोरा छोरी सरकारी बिद्यालयमै पढाउनु पर्ने

1200 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ– धादिङको सिद्धलेक गाउँपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी लागू गरेको सिद्धलेक गाउँपालिकाले अवको शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो । बैशाख देखि शुरु हुने शैक्षिक सत्रमा आफ्ना छोरा छोरीलाई अनिवार्य रुपमा सरकारी बिद्यालयमा भर्ना गर्न भन्दै गाउँपालिका भित्र रहेका सरकारी कार्यालय र बिद्यालयहरुमा पत्राचार गरेपछि यो बिषयले अहिले सर्वाधिक चर्चा पाएको छ ।
सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै गाउँपालिकाको तेश्रो गाउँसभाबाट यस्तो निर्णय गरेको हो । निर्णयसँगै अवको शैक्षिक सत्रबाट सरकारी सेवा सुविधा लिने शिक्षक र कर्मचारी जनप्रतिनिधि तथा गाउँपालिका क्षेत्रभित्र कार्यरत सबैतहका सरकारी कर्मचारीलाई उक्त नियम लागू हुनेछ ।
सिद्धलेक गाउँपालिका क्षेत्रमा गाउँपालिका, ७ वडा कार्यालय, ४७ सामुदायिक विद्यालय, तीन स्वास्थ्य चौकी, पाँच बर्थिङ सेन्टर रहेका छन् ‘आफू जहाँ आफ्ना छोराछोरी त्यहाँ’ भन्ने उद्धेश्यका साथ सामुदायिक बिद्यालय प्रति सकारात्मक सन्देश प्रवाह गर्न र शिक्षाको गुणस्तर बढाउन यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रेमनाथ सिल्वालले वताउनु भयो ।
गाउँपालिकाले गरेको निर्णयल अहिले जिल्ला स्तरमा मात्रै होइन बाहिर पनि निकै चर्चा पाउन थालेको छ । सरकारी बिद्यालयमा शिक्षाका लागि भईरहकेको लगानीबाट सन्तोषजनक उपलव्धि हासिल हुन नसकेपछि नेपाल सरकारलेनै सरकारी सेवा सुविधा लिनेहरु आफ्ना छोराछोरीलाई सरकारी बिद्यालयमा पढाउनु पर्ने निति अघि सारेको छ ।
जिल्लाका १३ स्थानीय तह मध्ये सिद्धलेक गाउँपालिकाले मात्रै सरकारी सेवा सुविधा लिनेका छोरा छोरी सरकारी बिद्यालयमै पढाउनु पर्ने निर्णय गरेर कार्यान्वयनका लागि पत्राचार गरेको हो गाउँपालिकाले बैशाख देखि सबै विद्यालय र सरकारी कार्यालयमा ई–हाजिर लागू गर्ने तयारी पनि गरेको छ । त्यसका लागि पुर्वाधार जडानको काम भईरहको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले वताउनु भयो ।