संरचना अपाङ्गमैत्री नहुंदा अपाङ्गता भएकाहरु सेवा लिनबाट बञ्चित

842 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – सरकारी कार्यालय तथा अन्य सरोकारवाला निकायको संरचना अपाङ्गमैत्री नभएको कारण अपाङ्गता भएका व्यक्तिले कुनै पनि सेवा सजिलो संग लिन नपाएको नेपाल अपाङ्ग महासंघका केन्द्रिय सदस्य गुणराज खतिवडाले वताउनु भएको छ ।
कार्यालयको संरचना अपाङ्गमैत्री नभएपछि अपाङ्गता भएका व्यक्ति कुनै पनि कार्यालयमा पुगेर सेवा सुविधा उपभोग गर्न, कुनै पनि गुनासो राख्न,परामर्श लिनबाट बञ्चित हुंदै आएको खतिवडाको भनाई छ । अझ धेरै जसो स्थानीय तहमा त कार्यालय अपाङ्गमैत्री हुन त परै जावोस स्वास्थ्य र अपाङ्गता भएका व्यक्तिको लागि खर्च गर्नु पर्ने वजेट समेत सडक निर्माणमा खर्च भईरहेको खतिवडाको गुनासो छ ।
३ नम्बर प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्धारा सोमबार धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आयोजित अपाङ्गता सम्वन्धि सरोकारवालाहरु संग सचेतीकरण कार्यक्रममा अपाङ्गगता भएका व्यक्तिहरुको तर्फबाट बोल्दै खतिवडाले यि धारणा राख्नु भएको हो । संरचनाका कारण अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो हक अधिकार उपभोग गर्न, निति निर्माता र कार्यान्वयन गर्ने पक्ष संग कार्यकक्षमा भेटेर कुराकानी गर्न नपाउनु दुःखद पक्ष भएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भएको हो ।सरकारी कार्यालयका प्रमुख, कार्यालयका सूचना अधिकारीहरु मात्रै होइन तथा जनप्रतिनिधिहरु समेत ह्वीलचीयर पनि जान नसक्ने स्थानमा कार्यकक्ष वनाएर बस्ने गरेको अपाङ्गगता भएका व्यक्तिहरुको गुनासो छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख वालकृष्ण नेपालीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक मोहम्मद दाउद, आनन्दबन अस्पताल ललितपुरका फिजियोथेरापिष्ट जगन्नाथ महर्जन, स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत उत्तम खनाल, जिल्ला अस्पताल धादिङका निमित्त सुपरिटेण्डेट डाक्टर दिपा वोहोरा, धादिङका सहायक सरकारी वकिल गोविन्द हुमागाई लगायतले अपाङ्गता भएका व्यक्तिको समस्या,स्वास्थ्य उपचारको सुविधा, कानूनी व्यवस्था जस्ता बिषयमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, सरोकारवाला संघ संस्थाका प्रतिनिधि,संचारकर्मी, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।