डम्पिङ साइट नहुंदा फोहोर सिधै महेशखोलामा

1357 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२० चैत – धादिङको महादेबबेसी वजार जिल्लाकै चहलपहल हुने मुख्य व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । थांक्रे गाउँपालिकाको केन्द्र पनि यहि वजारमा नै रहेको छ । मानिसहरुको चापसंगै वजारमा फोहोर मैलाको चुनौती पनि थपिंदै गएको छ । घर होस या पसल, उद्योग कलकारखाना जहाँबाट निस्कने भएपनि महादेबबेसी वजारमा फोहोर विसर्जन गर्ने निश्चित ठाउँ नहुंदा त्यस्को असर वजार नजिकैको खोलामा देखिन थालेको छ । वजारको चार सय घर, होटल, वधशाला लगायतका ठाउँबाट निस्केको फोहोर अहिले सिधै खोलामा फाल्ने गरिएको छ ।
साविकको केवलपुर, गोगनपानी,थांक्रे, तसर्पु र भुमेस्थान गाविसलाई समेटेर वनाईएको थांक्रे गाउँपालिका जिल्लामै धेरै जनसंख्या र ठूलो क्षेत्रफल ओगट्ने गाउँपालिकाको रुपमा रहेको छ । साविकका पाँच वटै गाविसको मुख्य वजारका रुपमा रहेको महादेवबेसी वजारमा गाउँपालिका थपिएपनि वजारको चहल पनि थपिंदै गएको छ । गाउँपालिका घोषणा भएको ३ वर्ष बितिसक्दा  पनि डम्पिङ साइटको भने अत्तोपत्तो छैन ।
वजार र बस्ती महादेबबेसी आसपासमा जुन गतिमा विकास भईरहेको छ त्यहि गतिमा त्यहाँ बाट निस्कने फोहोर मैला आग्रा र महेशखोलामा मिल्काउने क्रम पनि बढेको छ । केही समय यता बिशेष गरी महेशखोलाको किनार अस्थायी डम्पिङ साईटमा परिणत भएको स्थानीय शिक्षक रामचन्द्र रुपाखेती वताउनहुन्छ । महादेबबेसी बजार क्षेत्रबाट निस्कने सबै फोहोर र ढल महेश खोलामा मिसाइँदा खोला प्रदुषित मात्रै बनेको छैन, खोला आसपासको बस्तीमा समेत दुर्गन्ध फैलिएर हिँडडुल गर्नसमेत समस्या हुने गरेको रुपाखेतीको भनाई छ ।
धार्मिक तथा साँस्कृतिक महत्व बोकेको महेशखोला महादेबबेसी क्षेत्रमा भने सबैभन्दा बढी प्रदुषित हुने गरेको छ । केही बर्ष अघि सम्म तिर्खा लाग्दा खोलाको पानी पिउन सक्ने अवस्थामा हुन्थ्यो, हिजो आज पानी छुन पनि घिन लाग्ने भईसकेको छ ।
बजारका घर पसल, बधशालाबाट निस्कने फोहोर सिधै खोलामा फाल्ने गरिदिंदा बाह्रैमास स्वच्छ पानी बग्ने महेशखोला अब दुर्गन्धित हुन पुगेको थांक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रवि ओझा बताउनहुन्छ । । खोला नजिकैको महादेवबेसीमा अहिले बाक्लो बस्ती बिस्तार भइसकेकाले फोहोर उत्पादन पनि त्यसै गरी बढिरहेको हुंदा फोहोर मैला विसर्जन गर्ने निश्चित ठाउँको खोजीमा गाउँपालिका लागि रहेको भएपनि उचित स्थानको अभावले डम्पिङ साईट व्यवस्थापन हुन नसकेको वडा अध्यक्ष ओझाको भनाई छ ।
महेश खोलाको छेउछाउ र वजारमा बनेका प्रायः घरबाट निस्कने फोहोर खोलाले नै बोक्नुपर्छ । पिसाबदेखि लुगा धोएको र नुहाएर निस्किएको पानी समेत सिधै खोलामा मिसाइएको देख्दा निकै दुःख लाग्ने गरेको वडा अध्यक्ष ओझाले वताउनु भयो । डम्पिङ साईट स्थापना गर्न भनेर थांक्रे गाउँपालिकाले चालु आर्थिक बर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेको र ठाउँको खोजीमा लागिरहेको पनि ओझाले जानकारी दिनुभयो ।
वजारका घर, पसलहरु बाट मात्रै होइन सडक क्षेत्रमा मासुका लागि गरिने पशु बधपछि त्यसको आन्द्रा भुँडीको फोहोर पनि सिधै महेशखोलामा फाल्ने गरिएकोले खोला फोहोर हुने क्रम झनै बढेको शिक्षक रुपाखेती बताउनुहन्छ । त्यति मात्र होइन, खोलाकै डिलमा कतिले बुंगुरका खोर बनाएका छन । त्यहाँबाट निस्कने फोहोर पनि महेश खोलाले नै बगाउँछ ।
गाउँ पालिकाले दैनिक रुपमा फोहोर उठाएर फाल्ने गर्ने ठाउँ बनाउन नसक्दा महेश खोला डम्पिङ साइट बनेको हो । फोहोर व्यवस्थापनका लागि जमिन नपाएको भन्दै गाउँपालिका ठाउँको खोजीमा लागि रहेको कार्यपालिका सदस्य कुमार विश्वकर्मा बताउनुहुन्छ । गाउँपालिका भएकै बेलादेखि फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर डम्पिङ साईटको खोजी गरिरहेको भएपनि अहिले भर्खरै ठाउँको पहिचान गरेर त्यस्को विस्तृत अध्ययन गर्ने काम शुरु हुन लागेको पनि कार्य पालिकाका प्रवक्ता समेत रहेका विकले जानकारी दिनु भयो ।खोला नजिक बसोबास गर्ने केही समुदायको लुगा धुने र नुहाउने स्थान पनि यही खोला हुँदा रोगको संक्रमण यहीँबाट सुरु हुने स्वास्थ्यकर्मीहरु बताउँछन ।