राष्ट्रिय विकास परिषद् बैठक सम्पन्न,पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित

1214 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो । आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् ।
सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य पारिभाषित गरिनुपर्ने, आर्थिक वृद्धिदर यकिन गर्नुपर्ने, विकासको कुन मोडल अपनाउने भनेर निर्धारण गर्नुपर्ने, प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने, अनुगमन तथा मूल्यांकन सबल बनाउनुपर्ने, तीनखम्बे अर्थनीति अनसार सहकारीलाई अझ परिष्कृत बनाउनुपर्ने आदि सुझाव बैठकका क्रममा आएका छन् ।
त्यस्तै, गौरवका आयोजनाको गति बढाउनुपर्ने, अर्थतन्त्रमा कृषिको योगदान बढाउनुपर्ने, आयात घटाएर निर्यात बढाउनुपर्ने, तथ्यांक बलियो बनाउनुपर्ने, निर्वाचन खर्च कम गर्नुपर्ने, रिसोर्स बैंकिङ स्थापना गर्नुपर्ने आदि सुझाव पनि बैठकका क्रममा आएको बताइएको छ ।
बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले सभ्य र समुन्नत समाजको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुशाशन कायम गर्ने दृढता व्यक्त गरे । सामाजिक न्याय र विभेद अन्त्य गर्ने संविधान निर्माण भएको र समाजवाद उन्मुख व्यवस्था लागू भएको उनको भनाइ थियो ।बैठकका क्रममा प्लेनरी सेसनमा २६ जना वक्ताले प्रस्तुतीकरण गरेका थिए भने एक सय ७८ जनाले सुझाव पेश गरेका थिए । ६ समूहमा तीन सय जना विज्ञले विभिन्न विषयमा छलफल गरेका थिए । दुई दिने बैठकमा प्रदेशका मुख्यमन्त्रीहरु, संसदीय समितिका सभापति तथा विज्ञहरु सहभागी थिए । आधारपत्रमा आएका सुझाव समेटर अन्तिम रुप दिइने र योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट पास गरिने प्रम ओलीले जानकारी दिए । आगामी आवको बजेटमा यसलाई समावेश गरिनेछ ।
योजना आयोगले आगामी २५ वर्षमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गरेको छ । आयोगले विसं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पु¥याउने मार्गचित्रसहित सुख र समृद्धिको सिर्जना गर्न पन्ध्रौं पञ्चवर्षीय योजना तयार पारेको हो ।यो योजनालाई सफल बनाउन आयोगले सातै प्रदेशस्तरमा छलफल चलाएको थियो भने विज्ञ, सामाजिक क्षेत्रका विभिन्न समूह, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्र, विकास साझेदार संस्था, सञ्चार क्षेत्र, नागरिक संगठनहरुसँग पनि योजनाको आधारपत्रको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको थियो ।
नेपालको दीर्घकालिन सोचमा आधारित रहेको पन्ध्रौं योजनाले औसतमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । योजनाले सूचना प्रविधिको विस्तारसँगै कृषि, उत्पादनमूलक उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिएको छ । यो योजनाले दीगो विकासका लक्ष्यको सामन्जस्यतालाई विशेष ध्यान दिएको छ ।योजनाले सिमान्त पुँजी उत्पादन अनुपातको विश्लेषण र लगानी प्रक्षेपण गरेको छ भने आर्थिक स्थायित्व र वित्तीय संघीयता कार्यान्वयनलाई विशेष जोड दिएको छ । विकासशील मुलुकमा स्तरोन्नति हुँदै दीगो विकास लक्ष्य प्राप्ति गर्ने र सोही लक्ष्यको वित्तीय रणनीतिका आधार लिई स्रोत साधनको अनुमान लगाएर निरपेक्ष गरिबी हटाउन रोजगारी सिर्जनालाई विशेष ध्यान दिएको मध्यान्ह डेलि डट कमले  खबर लेखेको छ ।