बारा र पर्सामा वितण्डा मच्चाउने आँधीबेहरी टोर्नाडो भएको पुष्टि

1062 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधीबेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो आएको पुष्टि गरेको हो । मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् । सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणालीको विकास हुँदा टोर्नाडो बन्छ ।

मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउँदा सुक्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जंदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिँदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ । टोर्नाडो सिधा जमिनमा आउने तीव्र गतिको वायु हो । यो ४ सय किलोमिटर प्रतिघटाका दरले आउने गरेको पाइन्छ । बारा र पर्सामा क्षति पुग्ने गरी आएको टोर्नाडो एक दशमलव ६ किलोमिटर चौडाइको भएको अध्ययनले देखाएको छ । यसको लम्बाइ एकीन गर्न नसकिए पनि ८० किलोमिटर लम्बाईसम्मको हुने गरेको पाइन्छ । मौसमविद् श्रेष्ठले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारीसाधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उनले बताए । यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । ‘फोटो हेर्दा जहाँजहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ,’ उनले भने, ‘टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्बिरमा प्रस्ट देखिन्छ ।’ यो समाचार राजधानी दैनिकमा सविन शर्माले लेख्नु भएको हो ।