थाक्रे गाउँपालिकामा होटल तथा किराना पसलहरुको अनुगमन

1239 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थाक्रे,७ बैशाख । उपभोक्ताको अधिकार र हितलाई सम्मान गर्दै वजार अनुगमन तथा गुणस्तर परिक्षण मार्फत सुरक्षित उपभोगलाई सुनिश्चित गर्न धादिङको थांक्रे गाउँपालिकाले वजार अनुगमन शुरु गरेको छ । थाक्रे गाउँपालिकामा पर्ने लोकमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा किराना पसलहरुको अनुगमन गरिएको छ ।
केन्दि«य खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बबरमहलको सहयोग तथा थाक्रे गाउँपालिकाको आयोजनामा थाक्रे गाउपालिकाको धार्के गणेश खोला पुल देखि साविकको भुमेस्थान गाविसको खेस्टे खोला सम्मको सडक क्षेत्रमा सञ्चालन गरिएको होटल, कोल्डस्टोर तथा किराना पसलहरुको अनुगमन गरिएको हो ।
शुक्रवार र शनिवार गरि दुई दिन सम्म गरिएको अनुगमनका क्रममा विभिन्न ठाउँमा होटल तथा किराना पसलहरुमा म्याद नाघेका खाद्य सामाग्रीहरु फेला परेको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा विभिन्न होटलहरु दर्ता नै नगरी सञ्चालन गरिएका र म्याद नाघेका खाद्यपदार्थहरु विक्री वितरणका लागी राखिएको, आफ्नो मनलाग्दी मुल्यसुची रहेको भेटिएको थियो ।
राजमार्ग क्षेत्रमा सञ्चालन गरिएका होटलहरु प्रति तिव्र गुनासो आएपछि त्यसको अनुगमन गरिएको थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी थांक्रे गाउँपालिकाले बजार अनुगमन निर्देशिका समेत जारी गरेको छ ।