धादिङबेसी–सल्यानटार सडक कालोपत्रे शुरु

1961 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-  धादिङबेंसी–सल्यानटार हुंदै गोरखाको आरुघाट जोड्ने सडक खण्ड निर्माण शुरु भएको २४ बर्ष पछि कालोपत्रे सुरु गरिएको छ । यो सडक खण्डको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट अहिले धमाधम कालोपत्रेको काम सुरु भएको धादिङबेंसी आरुघाट गोरखा सडक आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख नवीनमान श्रेष्ठका अनुसार जिल्ला सदरमुकाम धादिङबेंसीबाट सल्यानटार जोड्ने २६ किलोमिटर लम्बाईको सडक आगामी असार मसान्त सम्ममा स्तरोन्नति सहित कालोपत्रे गरि सक्ने लक्ष्यका साथ निर्माण कार्य भईरहेको छ । सडक निर्माणका लागि ७० करोड ११ लाख ७३ हजार रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सडक–खण्ड पुननिर्माण स्तरउन्नती तथा कालोपत्रे गर्ने काम लामा कन्स्ट्रक्सनले जिम्मा लिएको छ । सडक दुई खण्डमा भाग लगाएर छुट्याएर काम भईरहेकोपनि गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो ।

सदरमुकाम धादिङबेसी संग जिल्लाको मध्य तथा उत्तरी भेगका गाउँबस्ति जोड्ने गरी २०४२ सालदेखि जिटिजेडको सहयोगमा सडकको निर्माण शुरु गरिएको थियो । जिटिजेडको सहयोगमा ०४२ सालदेखि हरियाली मार्गका रूपमा निर्माण थालिएको धादिङबेंसी–सल्यानटार सडक मर्मत संभारका लागि हरेक वर्ष एक करोड रुपैयाँ हाराहारीमा खर्च हुंदै आईरहेको थियो । बर्षेनी करोडौं रुपैया खर्च भएपनि सडकको अवस्थामा भने सुधार हुन सकेको थिएन । अहिले स्तरउन्नती सहितको पुनर्निमाण र कालोपत्रे गर्ने कार्यका लागि ६० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

जिटिजेडको सहयोगमा ०४२ सालदेखि निर्माण हरियाली मार्गका रूपमा निर्माण थालिएको धादिङबेंसी–सल्यानटार सडक मर्मतसंभारका लागि हरेक वर्ष एक करोड रुपैयाँ हाराहारीमा खर्च हुंदै आईरहेको थियो । बर्षेनी करोडौं रुपैया खर्च भएपनि सडकको अवस्थामा भने सुधार हुन सकेको थिएन । लामा कन्स्ट्रक्सनले २ वर्षभित्र कार्य सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता भएको थियो । निर्माणाधिन सडकको मुआव्जा निर्धारण र वितरणमा भएको ढिलाई,ढुंगा, गिटी लगायतका निर्माण सामग्री उत्खनन तथा ल्याउन भोग्नु परेको कठिनाइ, मौसम लगायतका कारणले निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीको भनाई छ ।

सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग र गोरखाको उत्तरपूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित हुंदै आएको छ । यो सडक खण्ड पार गर्दै जिल्लाको नीलकण्ठ नगरपालिकाको ८,९ र १० नम्बर वडाका साथै त्रिपुरासुन्दरी, गंगाजमुना र ज्वालामुखी गाउँपालिका लगायत उत्तरी क्षेत्रका अधिकांश गाउँबस्तीका बासिन्दा आवातजावत गर्ने र दैनिक उपभोगका सामान ओसार पसार गर्ने गर्छन । सडक निर्माणमा ढिलासुस्ती हुँदा यस भेगका स्थानीय मारमा पर्दै आईरहेका छन् । असार मसान्तमा सम्झौता अवधि सकिने भएकाले त्यो भन्दा अघि वर्षा सुरु नहुँदै कालोपत्रे सक्नु पर्ने वाध्यता निर्माण कम्पनीमा छ ।