सिस्ने खोलादेखि धार्केसम्म नयाँ सडक निर्माण गरिने

3027 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नागढुंगा–मुग्लिन (९५ दशमलव ५ किलोमिटर) सडक चार लेनमा विस्तार गर्ने योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि रद्द गरेको छ । त्यसको विकल्पमा सिस्ने खोलादेखि धार्केसम्म नयाँ सडक निर्माण गरिने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार त्यसबाहेक साबिककै सडकलाई मर्मत–सम्भार तथा नयाँ पुल थपेर यातायात आवागमनलाई द्रुत बनाइने योजना छ ।

निर्माण हुने तयारीमा रहेको नागढुंगा–सिस्नेखोला टनेलपछि धार्केसम्म ११ किलोमिटर लम्बाइको छुट्टै नयाँ सडक निर्माण गरिनेछ । त्यो सडक धार्के पुगेपछि पुनः नागढुंगा–मुग्लिन सडकमा जोडिनेछ । ‘नयाँ बन्ने सडक पनि दुई लेनको हुनेछ भने हालको दुई लेनको गरी चार लेनको सडक हुनेछ,’ सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘नयाँ निर्माण हुने सडकको अध्ययनसमेत भइसकेको छ ।’

विभाग धार्केसम्म छुट्टै सडक निर्माण गरे पनि त्यसपछि के गर्ने भन्नेबारे भने निष्कर्षमा पुग्न सकेको छैन । विभागका महानिर्देशक शर्माका अनुसार त्यसपछिको सडकलाई भौगोलिक अवस्थितिअनुसार काटेर विस्तार गर्न कठिन छ । तर, आवागमनलाई दु्रत बनाउन धार्केदेखि मुग्लिनसम्मको ८० दशमलव ५ किलोमिटर सडक भने सुधार गरिनेछ । त्यसका लागि विभिन्न स्थानमा बस, ट्रक रोक्ने ठाउँ निर्माण गरिनेछ । बस्तीहरूमा बाटो काट्ने बटुवा (पेडेस्ट्रियन) पुल निर्माण गरिनेछ भने दुई सडक आएर एकै ठाउँमा मिल्ने बिन्दुमा आवश्यक व्यवस्थापनको काम गरिने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए नयाँपत्रिका डेलि डट कममा जिवन बस्नेतलले खबर लेख्नु भएको छ ।

सडक विस्तार नगर्नुको कारण

अहिलेकै सडकलाई विस्तार गरेर चार लेन बनाउन कठिनाइ भएको सडक विभागको भनाइ छ । विभागले गरेको अध्ययनअनुसार पहिरो जाने, विस्तार कार्यका लागि लामो समयावधि लाग्ने र खर्च बढी हुने तथा चलिरहेको सडकमा काम गर्दा धेरै अवरोध आउनेछ । त्यसबाट बच्न नयाँ सडक निर्माण गर्ने तयारीमा विभाग छ । अहिले गरिने सुधारले अर्को ४–५ वर्षको ट्राफिक धान्ने महानिर्देशक केशवकुमार शर्माले बताए । त्यसवेलासम्म काठमाडौं–तराई दु्रतमार्ग बनेमा  सडक विस्तार नगर्दा पनि हुने सम्भावना छ । यसले विस्तारका लागि हुने अर्बौँ रुपैयाँ लगानी नगरे पनि हुने स्थिति आउन सक्छ । त्यस्तै, काठमाडौंको विमानस्थल स्तरोन्नति र पोखरामा ठूलो विमानस्थल बन्दै छ । यस्तो  अवस्थामा हवाई यात्रा गर्नेको संख्या बढ्न सक्नेछ । ‘रणनीतिक हिसाब गरेरै अहिले विस्तार नगर्ने निर्णयमा पुगेका हौँ,’ शर्माले भने ।

०७६/७७ देखि काम सुरु गर्ने तयारी

नागढुंगा–मुग्लिन सडक विस्तारबारे अध्ययन गरेर विश्व बैंकको परामर्श टोली ९मिसन० फर्किसकेको छ । स्थलगत अध्ययन गरेको टोलीले नेपालीपक्षसँग छलफल गरेको छ । विश्व बैंक सहुलियत ऋण ९१ प्रतिशत० लगानी गर्न सकारात्मक भए पनि निर्णय भइनसकेको विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । ‘विश्व बैंकको बोर्ड बैठकबाट चाँडै निर्णय आउने अपेक्षा छ,’ उनले भने । चाँडै निर्णय आए आर्थिक वर्ष ०७६÷७७ देखि आयोजनाका रूपमा काम थालिने तयारी छ ।

सडक, पुल सुधारमा २४ अर्ब आवश्यक

विश्व बैंक र सडक विभागले गरेको अध्ययनअनुसार नयाँ सडक निर्माण, पुल निर्माण र साबिकको सडक सुधारमा २४ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । सो लगानीले सिस्नेखोलादेखि धार्केसम्म ११ किलोमिटर दुई लेनको नयाँ सडक निर्माण गरिनेछ । त्यसका लागि ६ अर्ब रुपैयाँ खर्च गरिनेछ । बाँकी रहेको सिस्नेखोलादेखि मुग्लिनसम्मको पुल निर्माण र मर्मत तथा सडक मर्मत–सम्भारलगायतका काम गरिनेछ । सुधारभित्र २१ वटा पुल, करिब ७ किलोमटिर क्लाम्बिङ लेन, घुम्ती ९मोड० सुधार, २६ वटा पुलको मर्मत गरिनेछ । त्यस्तै, १५ वटा अकासेपुल निर्माण हुनेछन् । तर, लागत एक वर्षपहिले नै तय गरिएकाले पुनः अद्यावधिक गर्नुपर्नेछ । ‘त्यसैले त्यसमा थपघट हुनेछ,’ महानिर्देशक शर्माले भने ।

२१ वटा पुल विस्थापन गरिने

धार्केदेखि मुग्लिनसम्मका २१ वटा पुल विस्थापन गरिने भएको छ । कतिपय बांगो बनेका पुललाई सीधा बनाउने र आवागमनलाई सुधार ल्याउने विभागको तयारी छ । यसले सवारीसाधनको गतिलाई बढाउन सहज बनाउन सहयोग पुर्‍याउनेछ । उकालो ठाउँमा ‘क्लाइम्बिङ लेन’को व्यवस्था गरिनेछ । यसले धेरै तौल ९भार० बोकेका सवारीसाधन क्लाइम्बिङ लेनतिरबाट जाने व्यवस्था मिलाइने छ भने अन्य सवारीसाधन सीधै आउनेछन् । आवश्यक ठाउँमा सडकलाई तीन लेनको बनाइनेछ । अहिले तौल बोकेको ट्रक अघि लागेपछि छिटो गुड्ने सवारी पनि ढिलो हुने गरेको छ । क्लाइम्बिङ लेनले सवारीसाधनको गतिलाई नघटाई आवत–जावत गर्न सहज बनाउनेछ ।

 त्रिशूली नदीपारि समानान्तर सडक निर्माणको अध्ययन गरिने

५ वर्षपछि सवारी ट्राफिक अधिक भएर नयाँ सडक निर्माण गर्नुपरेमा त्रिशूली नदीपारि दुई लेनको सडक निर्माण गर्ने योजना छ । तर, अहिले पूर्वतयारीस्वरूप अध्ययनको काम भने सम्पन्न गर्ने विभागको तयारी छ । अहिलेसम्म त्रिशूलीपारि विशालटारदेखि फिस्लिङसम्म १५ किलोमिटर अध्ययन सम्पन्न भइसकेको छ । तर, त्यसमा तत्कालै सडक निर्माण भने सुरु हुनेछैन । आवश्यक परेमा धार्केदेखि मुग्लिनसम्म नदीपारि भएर जाने गरी समानान्तर सडक बनाउने सोच सडक विभागको छ । अझै नदीपारि फिस्लिङदेखि मुग्लिनसम्म र धार्केदेखि विशालटारसम्म अध्ययन भएको छैन । यसअनुसार नदीपारि धार्केदेखि मुग्लिनसम्म बाँकी रहेको ६५ दशमलव किलोमिटर सडकमा पनि विस्तृत अध्ययन गरिनेछ । त्यसमा धार्केबाट ५२ किलोमिटर विशालटारसम्म र फिस्लिङबाट मुग्लिनसम्म १३ किलोमिटर रहेको छ । त्यो अध्ययन आव ०७६र७७ मा सुरु गरिनेछ ।

विश्व बैंकले लगानी गर्ने भएमा अध्ययन पनि उसकै

थानकोट–मुग्लिन सडकपारिपट्टि विश्व बैंकले लगानी गर्ने भएमा अध्ययन पनि उसैले गर्नेछ । अरूले गरेको अध्ययनअनुसार विश्व बैंकले काम नगर्ने भएकाले उसैले अध्ययन गर्नेछ । अध्ययन गर्न मात्र करिब ६० करोड रुपैयाँ खर्च हुन सक्नेछ । अहिलेसम्म भएको अध्ययनमा करिब ४० करोड रुपैयाँ खर्च भएको छ । नागढुंगादेखि मुग्लिनसम्मको कुल ९५ दशमलव ५ किलोमिटर सडकमध्ये नागढुंगादेखि सिस्नेखोलासम्मको दूरी ४ किलोमिटर छ । तर, सुरुङमार्ग बनेपछि भने यसको लम्बाइ घटेर २ दशमलव ६८८ किमि हुनेछ ।