बेलैमा ख्याल नगरे बच्चाको आँखामा क्यान्सर पनि हुन सक्छ

1143 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । जनकपुरका चार वर्षीय आरव यादवको बायाँ आँखाको बीच भागमा सेतो गिर्खा टल्किएको थियो । उनकी आमा मायावतीले देखेकी थिइन् तर बच्चाको यस्तै हुन्छ होला भन्ने सोचिन् । गिर्खा विस्तारै बढ्न थाल्यो । उनीहरूले जनकपुरमै डाक्टरलाई देखाए । दुई वर्षको पुग्दा गिर्खा झनै बढेजस्तो भयो । जनकपुरको आँखा अस्पतालले दिएको औषधि लगाउँदै बसे ।

ढिलो गरी यादव दम्पतीले छोराको आँखामा क्यान्सर भएको थाहा पाए । हाल काठमाडौंको तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गर्ने तयारीमा छन् । मोरङकी पाँच वर्षीया सञ्जु दोङको आँखामा क्यान्सर देखा परेको छ । उनका अभिभावकले आँखाको नानीमा सेतो गिर्खा देखर पनि वास्ता गरेका थिएनन् ।

गिर्खा बढ्दै गएको आमा उर्मिला दोङ बताउँछिन् । सञ्जुको आँखामा गिर्खा देखापरेको तीन वर्षपछि दायाँ आँखा वरिपरी पूरै सेतो भागले छोप्यो । उनी पनि तिलगंगा आँखा अस्पतालमा उपचार गराउँदैछन् ।

मुगुकी आठ वर्षीया दिलमाया सानै हुँदा आँखामा गिर्खा देखिएको थियो । गाउँलेहरूले धुलो परेर परेर फुलो परेको हो भने । पाँच वर्ष त झाँक्रीलाई देखाए । निको नभएपछि झाँक्रीले नै अस्पताल लानू भनेपछि डाक्टरलाई देखाएको आम पवित्राले बताइन् । ‘क्यान्सर पो भइसकेछ,’ पवित्राले भनिन् ‘दुई वर्ष पूरा भएर तीन वर्षमा हिँडेकी थिई । फुलो परेको भनेर बस्यौं, यस्तो होला भनेर थाहा ¤’

तिलगंगामै भेटिएका रामेछापका ६ वर्षीय उदीप लिम्बूको पनि दायाँ आँखामा क्यान्सर भएको छ । जाँच गरेपछि छोराको आँखामा क्यान्सर भएको थाहा पाएको उनका अभिभावकले बताए । ‘आँखा जस्तो कुरामा कसैले पनि ख्यालख्याल गर्न नहुँदो रहेछ,’ उदीपकी आमा एलिनाले भनिन् । दुई वर्षीय पृथ चौलागाईको पनि हालै शल्यक्रिया भएको छ । उनको दायाँ आँखामा ‘ट्युमर’ पलाएको थियो । प्रतिष्ठानले शल्य क्रिया गरेर नक्कली आँखा लगाइदिने तयारी गरेको छ ।

बालबालिकाको आँखामा हुने रेटिनोब्लास्टोमा क्यान्सर रोग हो । तिलगंगा आँखा प्रतिष्ठानका अकुलोल्पास्टि सर्जोन डा। बेन लिम्बूका अनुसार रेटिनोब्लास्टोमा पाँच वर्ष मुनिका बालबालिकाको आँखाको पर्दामा देखापर्ने क्यान्सर हो । उनका अनुसार अभिभावकले बेलैमा थाहा नपाउँदा धेरै बालबालिकाले आफ्नो आँखा गुमाउनु परेको छ । जन्मपछि हरेक ६ महिनामा बालबालिकाको आँखा जाँच गराउन डा। लिम्बूको सुझाब छ । डा। लिम्बूका अनुसार २० हजार शिशुमध्ये एकजनालाई यस्तो क्यान्सर देखापर्ने गरेको पाएएको छ ।

पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीको बीचमा सेतो टीका देखिए वा असामान्य रूपमा आँखा रातो भएवा डेढोपना देखिएमा तुरुन्तै आँखा परीक्षण गराउन चिकित्सकको सुझाब छ ।

प्रतिष्ठानका अनुसार यो रोग पाँच वर्षमुनिका बालबालिकामा बढी देखापर्छ । रोग भएका मध्ये ९० प्रतिशतमा तीन वर्ष पूरा नहँुदै देखापर्छ । जति छिटो बिरामीहरू उपचारका लागि अस्पताल आउँछन् त्यति नै आँखा तथा ज्यान जोगाउनसक्ने चिकित्सकको भनाइ छ । हाल प्रतिष्ठानले यस रोग सम्बन्धमा ७ वटा प्रदेशका २७ वटा अस्पतालमा अनुसन्धान सुरु गरेको छ ।