त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु,२७ जना घाइते

1769 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ जेठ –  धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ को बन्छेटार स्थित पृथ्वीराजमार्गबाट यात्रुवाहक रात्री बस त्रिशूली नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस आईतबार विहान धादिङको आदमघाट नजिकैबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गल्छी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतकहरु मध्ये कन्याम इलामका विशाल गिरी, चन्द्रागिरी नगरपालिका काठमाण्डौंका सीता थपलिया र थानकोट काठमाण्डौंका राजकुमार सुवेदीको मात्रै सनाखत भएको छ । अन्य दुईको अझै सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार अहिलेसम्म २७ जना घाइतेको उद्धार गरिएको छ । आईतबार विहान काकडभिट्टाबाट काठमाडौ आउँदै गरेको ना ७ ख ४३८७ नम्बर को यात्रुबाहक बस बिहान ६ बजे बन्छेटारबाट त्रिशूलीमा खसेर दुर्घटनामा भएको थियो ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको खबर आएलगत्तै शशस्त्र प्रहरी वल, नेपाल प्रहरी, नेपाली सेना, राजमार्ग उद्धारकर्मी, रेडक्रसकर्मी र स्थानीयवासीले घाईतेहरुको उद्धार शुरु गरेका थिए । बस त्रिशूली नदीमा डुवेको कारण उद्धारमा कठिनाई भएको थियो । दुर्घटना कसरी भयो भन्ने वारेमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।