नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)

4372 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ ।  पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको पहिलो बैठक मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । बैठक बस्नु अघि  जिल्ला कमिटिमा परेका र पर्न छुटेका व्यक्तिहरुका बिषयलाई लिएर स्थायी समिति सदस्य एवम प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यको उपस्थितीमा प्रस्तावित पोलिटव्युरो सदस्यहरु राजेन्द्र पाण्डे, डा.गंगालाल तुलाधर, केन्द्रिय सदस्यहरु पुष्पबिक्रम मल्ल, खेम लोहनी, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, जिल्ला सचिव शालिकराम जमकट्टेल, प्रदेश कमिटिका सदस्य गुरुप्रसाद वुर्लाकोटी, नेत्रराज पौडेल लगायतका नेताहरुका बिच घण्टौं सम्म भएको छलफलमा नेपाल पक्षका नेताहरुले जिल्ला कमिटीमा प्रस्ताव गरिएका केही व्यक्तिको नाम नहटाए सम्म शपथ ग्रहण नहुने अडान राखेको भएपनि स्थायी समिति सदस्य शाक्यले सो कुरामा समर्थन नगरेका कारण दिउंसो १२ वजे देखि रोकिएको शपथ कार्यक्रम दिउँसो ४ वजे पछि शुरु भएको थियो ।

 

पार्टी संस्थापन पक्षले जिल्ला कमिटीमा थप गरेका सदस्यहरु एकपक्षिय भएको, समावेशी हुन नसकेको आरोप नेपाल पक्षका नेताहरुको रहेको छ भने नेपाल पक्षका नेताहरुले आंफुले भने जस्तो गर्न नपाएपछि पार्टीको निर्णयलाई गलत व्याख्या गरेको संस्थापन पक्षको दावी छ । पार्टी एकता पछि गठन भएको १ सय ४५ सदस्यिय जिल्ला कमिटीको प्रथम बैठक नेकपाका स्थायी समिति सदस्य एवम प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा मंगलबार धादिङबेसीमा सम्पन्न भएको हो ।

 

जिल्ला कमिटिको प्रथम बैठकमा केन्द्रिय सदस्यहरु पुष्पबिक्रम मल्ल,खेमप्रसाद लोहनी, ३ नम्बर प्रदेश कमिटिका अध्यक्ष नारायण दहाल, सचिव आनन्दप्रसाद पोखरेलको आतिथ्य रहेको थियो । यसै गरी प्रदेश कमिटिका सदस्यहरु जगन्नाथ नेपाल, रामवहादुर भण्डारी,नेत्रराज पौडेल,जानुका सिम्खडा, शम्भुकुमार श्रेष्ठ,विजय बुर्लाकोटी, मनराज भण्डारी,दिपा सिम्खडाको पनि उपस्थिति रहेको थियो ।

 

बैठकलाई सम्वोधन गर्दै पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले हिजो फरक फरक बिचारबाट संगठित भएका नेता कार्यकर्ता अहिले एउटै बिचारमा समाहित भई अघि बढ्न लागेकाले एक आपसमा मिलेर  पार्टीलाई बलियो र शशक्त बनाउन अघि बढ्नु पर्ने बताउनु भयो । प्रदेश नम्बर ३ मा धादिङ जिल्लाबाट पार्टीको जिल्ला कमिटि एकता तथा शपथ ग्रहण शुरु भएको भन्दै नेता शाक्यले खुसी व्यक्त गर्नु भएको थियो । पार्टीमा केही मतभेद हुन्छन त्यसैमा अल्झिएर बसिरहनु हुंदैन, एकआपसमा छलफल गरि त्यस्को निवारण गरेर अघि बढ्नु पर्छ नेता शाक्यले शपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै वताउनु भयो । यसै गरी प्रदेश कमिटिका अध्यक्ष दहालले पनि बिचार मिलेर पार्टी एकीकरण भएकाले अब एक आपसमा कुनै मनमुटाव,वैमनष्यता नराखी एक भएर अघि बढ्न आग्रह गर्नु भएको थियो ।

 

मंगलबार नेकपाको जिल्ला कार्यालय धादिङबेसीमा औपचारिक कार्यक्रमका बिच जिल्ला कमिटिका सदस्यहरुलाई शपथ ग्रहण गराईएको हो । शपथ ग्रहण कार्यक्रमका लागि दिनभर कार्यालय परिसरमै रहेका केही जिल्ला सदस्यहरु भने  कार्यक्रम शुरु भएपछि पार्टी कार्यालयबाट बाहिरिएका थिए । जिल्ला कमिटीको बैठकमा सहभागी हुन आएका प्रस्तावित पोलिटव्युरो सदस्यहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रदेश कमिटीका सदस्य गुरुप्रसाद वुर्लाकोटी पार्टी कार्यालयमा उपस्थितनै भएनन । नेताहरु होटल जनजिविकामा दिनभर जस्तो बैठक बसेका थिए । शिर्ष नेताहरु बैठकमा अनुपस्थित भएपछि जिल्ला कमिटिमा रहेका केही सदस्यहरु शपथ ग्रहण नगरि बाहिरिएका हुन । केही सदस्यहरु बैठकमा अनुपस्थित रहेपनि अधिकांश जिल्ला कमिटि सदस्यहरुको उपस्थितीमा प्रथम बैठक तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

दुई ठूला कम्युनिस्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेकपाको जिल्ला कमिटी एक सय ४५ सदस्यिय रहेको छ । जिल्ला कमिटिमा साविकको नेकपा एमालेका ८० जना र माओवादी केन्द्रबाट ६५ जना परेका छन । मूल पार्टी एकता भए पनि जिल्ला कमिटी, भातृ संगठन र स्थानीय तहका कमिटिको हरुको एकता हुन नसक्दा संगठनको गतिविधि निष्क्रिय हुंदै जान थालेको कार्यकर्ताहरुको गुनासो छ । जिल्ला कमिटी गठन भईसकेकोले जेठ महिना भित्रमा स्थानीय तहमा पनि पार्टी संगठन निर्माण भईसक्ने वताईएको छ ।