दुई झाँक्री मारेको आरोप लागेका २६ जना भए जेल चलान

1248 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ९ जेठ – धादिङ जिल्लाको उत्तरी भेगको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावका दुई जना झाँक्रीको हत्या गरेको अभियोगमा थुनामा रहेका २६ जना कारागार चलान भएका छन । दुई जना झाँक्रीको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २६ जनालाई धादिङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धामा कारागार सजाय सुनाएको हो ।  जिल्ला अदालतले एघार जनालाई जन्मकैद, १५ जनलाई ५ बर्ष ६ महिना कैद, तीन जनालाई तीन वर्ष आठ महिना कैद र चार जना महिलालाई सफाई दिने फैसला गरेको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाएको हो ।

गाउँमा झाँक्री काम गर्दे आएका धादिङको गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँवासीको सामूहिक कुटपिटका कारण मृत्यु भएको थियो ।चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला भएको जिल्ला सरकारी वकिल बालकृष्ण वाग्लेले बताउनु भयो ।

यसैगरी सोही घटना संलग्न रहेको अभियोग लागेका ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही पाँच वर्ष छ महीना कैद गर्ने फैसला भएको छ । छपन्न वर्षीय बलबहादुर तामाङलाई झाँक्रीहरु मार्नका लागि मतियारको रूपमा कटुवाल कराई गाउँले बोलाएर सहयोग पु¥याएको कसुरमा तीन वर्ष छ महीना कैद हुने जिलला अदालतले फैसला सुनाएको छ ।

घटनामा संलग्न भएका सत्र वर्षीय वुद्धिलाल तामाङ, निरज तामाङ, चन्द्रमान तामाङलाई पनि पाँच वर्ष कैद हुनेमा उनिहरु बालक भएकोले दुई तिहाइ अर्थात तीन वर्ष आठ महिना मात्र कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिनुभयो ।
साधारण तारेखमा रहेका सुशीना तामाङ, असार मायाँ तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै अदालतले सफाइ दिएको छ । अनुसन्धानका लागि पक्राउ परेका मध्ये चार महिला शुरुमै साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका थिए ।

गाउँघरमा झाँक्री काम गर्दै आएका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङलाई गाउँलेहरुले गएको साउन ५ गते सामुहिक रुपमा कुटपिट गरेर मारेका थिए । गाउँलेहरुको कुटाइका कारण दुवै जनाको मृत्यु भएपछि प्रहरी टोलीले ४ जना महिला सहित ३१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । घटनास्थल निकै विकटमा रहेका कारण प्रहरी पुग्न दुई दिन लागेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीको नेत्तृत्वमा गएको नेपाल प्रहरी र शशस्त्र प्रहरी वल समेत गरी ६० जनाको सुरक्षा टोलीले हत्याको अन्ुसन्धान गर्न लतावका ३१ जनालाई पक्राउ गरेर साउन ८ गते सदरमुकाम ल्याईपु¥याएको थियो ।

गाउँमा धामी झाँक्रीको काम गर्ने दुवैजनालाई गाउँलेहरुले कुटपिट गरी मारेको र आफन्तहरुलाई समेत नियन्त्रणमा लिई दाहसंस्कार गरेको भन्ने सूचनाको आधारमा प्रहरीले घटनामा संलग्न गाउँलेहरुलाई नियन्त्रणमा लिएको थियो । साविकको रि गाविसको वडा नम्बर ६ मा पर्ने लताव गाउँ अहिलेको गंगाजमुना गाउँपालिकाको वडा नम्बर २ मा पर्दछ, यो बस्ती तामाङ समुदायको मात्र वसोवास रहेको क्षेत्र हो ।