ब्रुसबाङको चेपाङबस्तीलाई दशैं सम्ममा सारिने घोषणा

1568 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । दक्षिणी धादिङको सबैभन्दा विकटमा रहेको चेपाङबस्तीलाई आगामी दशैं सम्ममा स्थानान्तरण गरिने भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरि यहाँका ३६ घर परिवार चेपाङहरुलाई स्थानान्तरण गरिने भएको हो ।
सबैभन्दा टापुको बस्ती भएका कारण खानेपानीको संकट व्यहोर्दै आएका ब्रुसबाङबासीलाई आधारभूत विकासका पुर्वाधार निर्माणका लागि करोडौं खर्च हुने भएकाले बस्तीनै सुरक्षित स्थानमा सारेर सबैखाले विकास उपलव्ध गराउन सरोकारवालाहरु सहमत देखिएका छन् ।

बर्षौ देखि खानेपानी तथा खाद्यान्नको संकट भोग्दै आएका ब्रुसबाङबासीलाई सम्मानजनक जिवन यापनका लागि नयाँ ठाउँमा सार्नुको विकल्प नभएकोले त्यस्को विकल्प खोजी गरिएको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटीले वताउनु भयो ।
ब्रुसबाङबासीको समस्या धेरैले सुनेपनि समाधानका लागि खासै पहल हुने गरेको छैन । यस पटक भने संघीय सांसद भूमीप्रसाद त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटी, वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष टंकवहादुर थापा, निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्मा गुरागाई, प्रहरी उपरिक्षक राजकुमार वैदवार, नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ लगायतको टोलीले आईतबार बु्रसबाङ पुगेर बस्ती सार्ने बिषयमा सहमती जनाएका हुन । गाउँमै पुगेको उच्चस्तरीय टोलीलाई ब्रुसबाङका चेपाङ समुदायले ध्यानाकर्षण पत्र बुझाउँदै आँफूहरुले भोग्नु परेको समस्याको अवगत गराएका थिए ।


सँघिय साँसद भुमि प्रसाद त्रिपाठीले गाउँवासीको ध्यानाकर्षण पत्र बुझ्दै अब सुरक्षित स्थानमा बसाई सर्न गाउँवासीलाई तयार रहन आग्रह गर्नु भएको थियो । चेपाङ समुदायको सवाल सम्बोधनका लागि गरिएको सरोकारवालाहरुको बैठकलाई सम्वोधन गर्दै साँसद त्रिपाठी र गाउँपालिका अध्यक्ष डल्लाकोटीले बु्रुसबाङबासीको दुःख,अभाव र कष्टकर जिवनशैलीलाई परिवर्तन गराई सम्मानजनक जिवन यापन गराउन एकीकृत नमूना बस्ती निर्माण गरी रोजगारी र आयआर्जनका अवसर सहित दिलाएर गाउँ सार्ने घोषणा गर्नु भएको हो ।
गाउँबासीले आंफुहरु मानव भएर बाँच्नका लागि कुनै पनि पुर्वाधार गाउँमा नभएकाले खानेपानी, खाद्यान्न, शिक्षा, स्वास्थ्य,पोषण, सुरक्षित आवास, सडक र विजुली लगायतको व्यवस्था गर्न सांसदको ध्यानाकर्षण गराएका थिए । समुदायको ध्यानाकर्षण पत्र बुझ्दै सांसद त्रिपाठीले अहिलेको अवस्थामा पनि विकासका कुनै पनि पुर्वाधार, खाद्यान्न, सहज जिवनशैलीबाट बञ्चित रहनु भनेको निकै दुःख लाग्दो कुरा भएकाले गाउँवासीको माग पुरा गर्न सुरक्षित वसोवासका लागि एकीकृत नमूना बस्ती निर्माण गरिदिने वताउनु भएको हो ।
वेनिघाट रोराङ गाउँपालिका र संघीय सांसदको पहलमा सरोकारवाला निकाय संग समन्वय र सहकार्य गर्दै ब्रुसबाङबासीलाई ताल्ती नजिकै स्थानान्तरण गर्ने र दशैं सम्ममा बस्तीको निर्माण गरी दशैमनाउन नयाँ घरमा लैजाने गाउँपालिका अध्यक्ष डल्लाकोटीले घोषणा गर्नुभएको छ । ब्रुसबाङको जग्गाजमिनलाई खेती गर्ने ठाउँको रुपमा राखिने र स्थायीवसोवासका लागि नयाँठाउँमा सारिने पनि अध्यक्ष डल्लाकोटीले वताउनु भयो ।

समुद्री सतहबाट १ हजार ८ सय ४५ मिटर उचाईमा रहेको बु्रसबाङ गाउँमा ३६ परिवार चेपाङको मात्रै वसोबास रहेको छ । खानेपानी र खाद्यान्नको संकट रहेको यो बस्तीमा फागुन महिनामा छरेको मकै कात्तिक महिनामा मात्रै पाक्ने गर्दछ । भिर पखेरामा मकै खेती हुने गरेपनि त्यसबाट हुने उत्पादनले बर्षको ४ महिना पनि छाक टार्न मुस्किल हुने गाउँबासीले वताए ।
खाद्यअधिकारका लागि वहस पैरबी गर्दै आएको फियान नेपालको संयोजनमा शनिवार बु्रुसबाङमा जिल्लाका उच्चस्तरीय टोलीको अवलोकन भ्रमण तथा चेपाङ समुदायको बिषयमा सरोकारवालाहरुको बैठक सम्पन्न गरिएको हो