टाटासुमो त्रिशूलीमा खस्दा तीन जनाको मृत्यु, तीन जना वेपत्ता

881 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रसुवा २१ जेठ –  रसुवा जिल्लाको मैलुङ–स्याँफ्रुबेंशी सडकखण्डमा सोमवार साँझ भएको टाटासुमो दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ३ जना अझै बेपत्ता छन् भने ५ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा रसुवा जिल्लाकै आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका रसुवाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । २ जनाको दुर्घटनास्थलमा तथा १ जनाको नुवाकोट स्थित त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

टाटासुमोमा सवार सवै उत्तरी रसुवाको गोल्जुङका वासिन्दा भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, ५ वर्षीया फुर्वु याङजेन तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ रहेका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले नदीमा बेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । प्रहरी नायव निरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले दिनभर बेपत्ताको खोजी गरेको पनि प्रहरी निरिक्षक भण्डारीले जानकारी दिए ।

पोखराबाट रसुवाको गोल्जुङतर्फ जाँदै गरेको बा१०च ५८२० नम्बरको टाटासुमो मैलुङ–स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा सोमबार सांझ दुर्घटना भई करीब १ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

  • फोटो गुगलबाट साभार