नीलकण्ठ मेयर कपको उपाधि चुम्यो धादिङ फुटसलले

2009 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २८ जेठ – नीलकण्ठ नगरपालिकाको आयोजनामा सदरमुकाम धादिङबेसीमा पहिलो पटक आयोजना गरिएको नीलकण्ठ मेयर कप २०७५ सम्पन्न भएको छ । प्रतियोगितामा १ लाख ५ हजार पुरस्कार राशीको फुटबलको उपाधी धादिङ फुटसल टिमले चुमेको छ ।

गएको शुक्रवार देखि शुरु भई सोमबार सम्पन्न भएको खेलको फाईनलमा धादिङ फुटसल र साँङकोष बीच भएको प्रतिस्पर्धामा विपक्षी समूहलाई ४ गोलले पछि पार्दै धादिङ फुटसलले मेयर कपको उपाधी चुम्ने अवसर जुटाएको हो । खेलमा धादिङ फुटसललाई विजयी बनाउन ९ नम्बर जर्सीका राजेश भण्डारीले खेल शुरुभएको २९ मिनेटमा पहिलो गोल गरेका थिए भने ३६ र ४७ मिनेमा रवि भण्डारीले २ गोल गरेका थिए भने ६४ मिनेटमा जर्सी नम्बर ११ का टिम कप्तान गोपीकृष्ण भण्डारीले १ गोल गरेका थिए । फुटसलले राष्ट्रिय स्तरका खेलाडी सँगै आईभेरीकोष्टका (विदेशी) विदेशी खेलाडी अब्दुल आजेजलाई समेत मैदानमा उतारेको थियो ।

प्रतियोगितामा उप विजेता बन्न सफल साङकोषका श्रीकृष्ण श्रेष्ठले ३१ मिनेटमा गरेको १ गोल नै अन्तिम गोल बन्न पुगेको थियो । यस टिममा ए डिभिजनमा खेलेका सुरज ठकुरी, किरण चौधरी, प्रकाश क्षेत्री लगायतका खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए ।नीलकण्ठ नगरपालिकोको आयोजनामा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा भएको प्रतियोगितामा फुटबल तर्फ विजेताले १ लाख ५ हजार र उप विजेताले ५० हजार पुरस्कार पाएका छन् । भलिबलमा बिजेता प्रथम, द्वितिय, तृतिय र सान्तोना टिमले क्रमस ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका छन ।


भलिबल छात्रा तर्फ पन्चकन्या मावि खालटे प्रथम, धादिङबेसी स्थित एड्भान्स एकेडेमी द्वितिय, प्रकाश मावि खाल्टे तृतिय र धादिङ बोर्डिङ सान्त्वना भएका थिए । यस्तै छात्र भलिबल प्रतियोगितामा धादिङ बोर्डिङ प्रथम, पशुपति मावि साङकोष द्वितिय, नीलकण्ठ मावि तृतिय र एड्भान्स एकेडेमी सान्त्वना भएका थिए ।

  • तस्बिरहरु : नारायण सिलवाल /  धादिङ पोष्ट डट कम