कुन प्रदेशको कति बजेट ?

1583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संघीय संरचना अनुसार स्थापना भएका सातवटै प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले ल्याएको यो दोश्रो बजेट हो । आंफै अभ्यासमा रहेका प्रदेश सरकारले कस्तो वजेट ल्याए त नागरिक खबर डट कमले तयार पारेको यो समाचार सामाग्री हामीले यहाँ प्रस्तुत गरेका छौं । आइतबार सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । आइतबार सात वटै प्रदेश रकारले सम्बन्धित प्रदेशसभामा आगामी अर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गरे ।

७ प्रदेशमध्ये प्रदेश नं ३ ले अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी बजेट प्रस्तुत गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले भने तुलुनात्मक रुपमा सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ ।

प्रदेश ३ को सबैभन्दा बढी

आइतबार सात वटै प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सबैभन्दा ठूलो आकारको बजेट प्रदेश नं। ३ को हो । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आइतबार आगामी आर्थिक वर्षका लागि ४७ अर्ब, ६० करोड, ८० लाख, ८९ हजार रुपैयाँको आयव्ययको अनुमानित विवरण प्रस्तुत गरे ।

अन्य ६ प्रदेशका तुलनामा यो सबैभन्दा बढी हो । प्रदेश ३ को कुल बजेटमध्ये चालुगततर्फ २४ अर्ब ४० करोड, ७९ लाख विनियोजन गरिएको छ भने पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार विनियोजन गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षका लागि वित्तीयतर्फ ३० करोड रुपैयाँ उक्त बजेटमा छुट्याइएको छ ।

प्रदेश ३ को बजेटमा प्रदेशका १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिइएको छ ।

बजेटमा सिन्धुलीको दुधौली, मकवानपुरको मनहरिमा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने, चितवनमा दूधको उत्पादन गर्ने कारखाना तथा हेटौँडा अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गरिने उल्लेख छ ।

बजेटमा प्रदेशका १० जिल्लामा गरिबी न्यूनीकरण गर्ने कार्यक्रम, कृषि, वनलाई संरक्षण गर्ने १३ वटै जिल्लामा छोरी–बुहारीलाई उच्च शिक्षासम्म अध्ययन गराउने अभियानलाई तीव्रता दिइने, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गलाई निर्माणको अग्रतामा बजेट छुट्याइएको छ ।

प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट

प्रदेश ३ पछि प्रदेश नं। १ ले दोस्रो ठूलो आकारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभामा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

बजेटमार्फत प्रदेश नं। १ सरकारले सडक, भौतिक पूर्वाधार, पर्यटन प्रवर्धन र कृषिलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश १ को कुल बजेटमध्ये चालुतर्फ १८ अर्ब, २० करोड, ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ ।

प्रदेश नं। २ बजेट तेस्रो ठूलो

प्रदेश नं। २ सरकारले आकारका हिसाबले तेस्रो ठूलो बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतबारको प्रदेशसभामा ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रस्तुत गरे । यो आकारका हिसाबले प्रदेश नं। ३ र १ भन्दा सानो हो भने गण्डकी, कर्णाली, प्रदेश नं। ५ र सुदूरपश्चिम प्रदेशको भन्दा ठूलो हो ।

२ नं। प्रदेशको बजेटमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूँजिगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश २ ले सबैभन्दा बढी प्राथमिकता ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई दिएको छ ।

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड

प्रदेश नं। ५ को सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी अर्थिक वर्षको आयव्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

प्रदेश ५ को बजेटमा चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट

कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

पूर्वाधार विकासलाई प्राथमिकता दिई ल्याइएको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार छुट्याइएको छ भने पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले कुल ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा गण्डकीका आर्थिक मामिलामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

मन्त्री गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १२ अर्ब, २८ करोड ९० लाख रुपैयाँ छुट्याइएको छ भने पूँजीगततर्फ १९ अर्ब ८४ करोड विनियोजन छ ।

सुदूरपश्चिमको बजेट सबैभन्दा कम

आइतबार प्रस्तुत भएका बजेटमध्ये सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको बजेट सबैभन्दा सानो आकारको छ ।

आइतबारको प्रदेशसभा बैठकमा सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले २८ अर्ब, १६ करोड, २० लाख ३५ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । यो बजेट आकारका दृष्टिले अन्य ६ प्रदेशको तुलनामा सबैभन्दा सानो हो ।

आइतबार मन्त्री रावलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ ।