खनियावास गाउँपालिकाको कुरीमा तामाङ होमस्टे सञ्चालन

1309 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । पर्यटकिय, संस्कृतिक, धार्मिक एवम् प्राकृतिक रुपमा प्रख्यात कुरीमा तामाङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित होमस्टे संचालनमा आएको छ । होमस्टेलाई व्यवस्थापन गर्न खनियावास गाउँपालिकामा तिन दिने आधारभुत होमस्टे तालिम सम्पन्न भएको छ । जेठ ३२ मा सुरु भएको तालिम असार २ मा सम्पन्न भएको गणेश हिमाल कम्युनिटि फाउन्डेसनका अध्यक्ष शिवहरी रिजालले बताउनु भयो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै खनियावास गाउँपालिकाको अध्यक्ष रणबहादुर तामाङले ग्रामिण पर्यटनको विकासमा होमस्टेको सुरुवातले ठूलो सहयोग पुग्ने वताउनु भयो । ४४ जना सहभागि रहेको तालिम कार्यक्रममा भुमराज तिवारीले सहजिकरण गर्नु भएको थियो । होमस्टेको लागि कुरी उपयुक्त गन्तव्य रहेको युवा पर्यटन व्यवसायी नवराज घिमिरेले बताउनु भयो ।

कुरी होमस्टे धादिङ जिल्लाकै नमुना वनाउन आफुहरु लागिपरेको स्थानिय समाजसेवी रामेश्वर रिजालले बताउनु भयो । खनियावास गाउँपालिकाकै पहिलो होमस्टेको रुपमा संचालनमा आएको होमस्टेमा तामाङ संस्कृति, रहनसहन, रीतिरिवाज लाई अनुभव गर्न सकिने कुरी सामुदायिक होमस्टेका अध्यक्ष सपना तामाङले बताउनु भयो ।

तामाङ भाषामा कु भन्नाले भगवान वस्ने स्थल र री ले पवित्र क्षेत्रलाई जनाउँछ । कुरीबाट हालसम्म बसाई सरेर अन्यत्र कोही पनि नगएको स्थानिय केवी गुरुङले बताउनु भयो । पुर्ननिमार्णपछि हरियो र रातो जस्ताको छाना हालिएको झुरुप्प मिलेर बसेको तामाङ वस्तीे गोरखा जिल्लाको वारपाक गाउँको झल्को दिने खालको छ ।

गणेश हिमाल तथा रुवी भ्याली जाने वाटोमा पर्ने कुरी गाउँ नजिकै तातोपानी कुण्ड अर्को आकर्षक गन्तव्य हो । कुरीमा रहेको ल्याक्चेकुण्डमा गणेश हिमालको दाँया प्रष्ट देख्न सकिन्छ । अधिकाशं भुभाग वनजंगलले ओगटेको कुरीमा केही वर्षदेखी मोटरवाटो पनि पुगिसकेको छ । विशाल विजुलुङ ढुङगामा साहसिक व्यतिहरुले चढ्न सक्छन । गाउँपालिकाले यसैवर्ष विजुलुङ ढुङगामा चढ्ने सिढि र वार लगाउने गाउँ पालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनु भयो ।