धादिङमा विभिन्न घटनामा संलग्न पाँच जना पक्राउ

1597 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । विभिन्न आपराधिक घटनामा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

तीन किलोग्राम लागूऔषध गाँजासहित जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ स्यादुलबाट एक जना पक्राउ परेका छन् । आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ आउँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा लागूऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ का १८ बर्षिय ऋदम भनिने चिरञ्जीवी तिवारी पक्राउ परेका हुन् ।

तिवारी सवार मोटरसाइकलका चालक बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ का होमबहादुर सुवेदी भने फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

त्यस्तै, जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहबाट गाई काटेर मासु बिक्रीवितरण गर्ने कार्यमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको खनियाँवास गाउँपालिका वडा नं १ घर भई हाल नीलकण्ठ नगरपालिका वडा नं ९ बस्ने ५१ वर्षीय तार लामा तामाङ, सोही ठाउँका ५० वर्षीय खर्पा तामाङ र ५६ वर्षीय लेक्ता तामाङ रहेका छन् ।

गाईलाई हम्बरले हानी घाइते बनाएर काटेर मासु बनाई भाग लगाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई पशुपक्षीविरूद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, गत असार २१ गते महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ९ बस्ने २४ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा थाक्रे गाउँपालिका वडा नं ९ बतासेडाँडा बस्ने २५ वर्षीय रामबहादुर मिजारलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकालाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।