धादिङ र नुवाकोटमा नियम मिच्दै नदी र खोलाको दोहन

1591 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ – धादिङ र नुवाकोटमा नियमविपरीत  नदी र खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो ।

नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ उपकरण लगाएर झिकिरहेको छ । कतिपय स्थानमा दिउँसो मजदुर लगाएर झिक्ने र राति हेभी इक्विमेन्ट प्रयोग गरी सिधै नदीबाट बालुवा निकाल्ने गरेका छन् । जिल्ला अनुगमन तथा समन्वय समितिले मजदुरले बालुवा झिके तापनि झिकेकै स्थानमा गाडी लैजान निषेध गरिएको छ । तर, नदी किनारमै गाडीमा बालुवा लोड भइरहेको समितिले जनायो । समितिका प्रमुख तथा संयोजक सन्तमान तामाङले अवैध कार्य रोक्न बैठक डाकेर अघि बढ्ने बताए ।

‘प्रहरीलाई अनुरोध गर्दा बेवास्ता गर्छन्,’ उनले भने, ‘नदीको दोहन रोक्नेबारे कदम चाल्न बुधबार बैठक डाकेका छौँ ।’ सडकबाट नदेखिने स्थानमा दिउँसै नदीको दोहन भइरहेको र राति प्रहरीको रोहवरमा एक्जाभेटरले बालुवा, गिट्टी झिक्ने गरेको स्थानीयले बताए । नदीबाट बालुवा झिक्ने क्रममा मदिरा खुवाएर खुकुरीसहितका मान्छे राख्ने गरेकोबारे प्रहरीलाई जानकारी दिँदा पनि बेवास्ता भएको स्थानीयको आरोप छ ।

नदीजन्य पदार्थ दोहन रोक्न आफू लागिपरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णबहादुर पल्लीमगरले बताए । उनले भने, ‘राति झिक्छन् भनेको सुन्छु क्यारे । आफू समात्न हिँडेको छु, भेटिँदैन ।’ प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रहरीलाई लिखित निर्देशन दिएर नियमन गर्न भनेको बताए । ‘दोहन कार्य रोक्नुपर्छ । यसमा कुनै कम्प्रोमाइज हुँदैन,’ उनले भने । प्रजिअले भनेको ४र५ दिन बितिसक्दासमेत नदीको दोहन नरोकिएको स्थानीयले बताए ।

बेलकोटगढी नगरपालिका ५ को कोल्पुखोला, सोही खोला र त्रिशूली बग्ने दोभान, केउरेनी, बेनपा ७ रातोमाटे, महादेवफाँट, काशीटारलगायत स्थानमा वडा १० को धनसारमा दिउँसो मजदुर र राति एक्जाभेटरले दोहन भइरहेको हो । त्यसैगरी, विनपा २ शेरा, ५ देवीघाट, ६ को चण्डीपोखरी, ८ को सामरी खोलामा पनि दोहन भइरहेको छ ।

किस्पाङ ५ मनकामना, सलाखु खोलालगायतमा दोहन जारी छ । यसैगरी एक्जाभेटर प्रयोग गरेर तादीखोला र लिखु खोलाको अधिकांश स्थानमा बालुवा झिक्ने कार्य भइरहेको छ । यहाँका नदीबाटबालुवा झिक्न बाहिर जिल्लाका ५ सय मजदुर खटिएका छन् ।

तीन दर्जनभन्दा बढी एक्साभेटरले राति नदीजन्य पदार्थ झिक्ने र उज्यालो भएपछि ती उपकरण लुकाउने गरिएको स्थानीयको भनाइ छ । प्रदेश सरकारले नदीजन्य पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनाएको कार्यविधिमा परिच्छेद ४ को ९ मा नदीजन्य पदार्थ संकलन अवधिबारे नदीजन्य पदार्थको संकलन असोजदेखि जेठ मसान्तसम्म हुने उल्लेख छ । सोही कार्यविधिको १६ को अनुगमन सम्बन्धी थप व्यवस्थाको उपदफा ९ मा ढुंगा, गिटी, बालुवाको उत्खनन् गर्दा एक्साभेटर डोजर लगायतका हेभी औजारको प्रयोग पूर्ण रुपमा बन्देज गर्नुपर्ने भनिएको छ ।

खेतमा बालुवाको थुप्रो
पृथ्वीराजमार्गको करिब ८ किलोमिटर भित्र पर्ने गजुरी–६ स्थित दरिङ्गाल खोलाका खेतमा यसपाला रोपाई भएन । गत वर्षसम्म जेठ मसान्त भित्र रोपाई भैसक्ने खोला किनारका खेतमा यतिवेला वालुवाका दर्जनौं पहाड बनेका छन् । रोपाई भएपछि हरियाली हुने खेतहरू यतिवेला वालुवाको थुप्रोले सेताम्य देखिन्छन् ।

त्रिशूली नदीको दोहन गर्ने वालुवा तस्करहरू नंवरप्लेट नराखेका ८ वटा डोजर र स्काभेटर लिएर पसे । कसैले नदेख्ने खोला भएको कारण महिनायता लगातार खोलावाट वालुवा झिकेर किनारका खेतमा थुप्रो लगाएका छन् । गत वर्ष मात्रै सडक पुगेको यस भेगमा नजिकैको चेपाङ्ग वस्ती श्यामेडाँडाका युवाहरू खोलाको वालुवा थुन्सेमा झिकेर बेच्ने गरेका थिए ।

बालुवा तस्करहरूले रातभर डोजरले त्रिशूली नदीका सहायक भित्री खोलाको दोहन गरी जम्मा गरेको बालुवा । तस्बिर स् हरिहरसिंह राठौर । कान्तिपुर

वालुवाबेचेर उनीहरू दैनिक एक हजारसम्म कमाई गर्थे । ‘तर वालुवा व्यापारीहरूले यसपाला डोजर लगाएपछि हामी ६० घरधुरीकोरोजीरोटी खोसियो’ स्थानीय चेपाङ्गराजकुमारले भने । वालुवा झिक्न खोलामा डोजरले बनाएका खाल्डामा परेर साउन ५ मा रोपाईबाट फर्कदै गरेका एक हल गोरु र आफना साथीसहित अन्य २ बालिका फसेपछि सबै गाउंले लागेर उद्धार गरेको स्थानीय राधिका चेपाङ्गले बताइन ।

उनका अनुसार डोजरले खोलामा बनाएको खाल्डोले नुहाउन, लुगाधुन र जंघार तर्न समेत कठिन भएको छ । एक महिनायता वालुवा तस्करहरूले लगातार रातभर डोजर लगाएर सुत्न समेत नदिएकोबारे स्थानीय प्रशाासन र जिल्ला प्रहरीमा पटक–पटक फोनबाट खवर दिए पनि कुनै सुनुवाई नभएको श्यामेडाँडाका भरत चेपाङ्गले बताए । उनले भने, ‘हामीले प्रहरी र सिडिओलाई वालुवा झिक्नेहरूको नाम समेत दिएका थियौं ।’

खोलाको वालुवा धुन पनि नपर्ने र सिधै ग्राहकहरूलाई बेच्न सकिने भएकाले नदी जन्य पदार्थ दोहन गर्नेहरू यता आकर्षित भएको हुनसक्ने स्थानीय बताउँछन् । संकलित बालुवा दैनिक ५० ट्रिपर भन्दा वढी ओसार्ने गरिएको छ । ट्रिपरका कारण उक्त ग्रामिण सडकमा किरान्चोक र पीडाका अन्य सार्वजनिक सवारी साधनलाई समेत कठिनाई भएको सरोकारवालाहरू बताउँछन् ।

गजुरी गाउँपालिकाले चालु आर्थिक वर्षमा गिट्टि वालुवा निकासीका लागी अध्यक्ष पदकै पराजित उम्मेदवार गणेशलाल श्रेष्ठ र टंक श्रेष्ठलाई १२ करोड ४७ लाख रुपैयाँमा ठेक्का दिएको छ । उक्त रकम असुल गरी थप नाफा गर्नकै लागी पनि स्थानीय प्रहरी प्रशाासनसंगको मिलेमतोमा वालुवा तस्करहरू त्रिशूली नदी, खोलानालामा गैर कानुनी रुपमा डोजर र स्काभेटर प्रयोग गर्ने गरेका छन् ।

यसबारे स्थानीयको गुनासो आएको र जिल्ला समन्वय समितिमा छलफल गरी दोहन तत्काल रोक्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बताए ।
यो समाचार हामीले कान्तिपुर डेलि डट कमबाट साभार गरेका हौं