दरिगाँल खोलामा अवैध उत्खननले मजदुरको रोजीरोटी खोसियो

1705 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ साउन – मेशिनको प्रयोग गरेर खोलाबाट बालुवा तथा अन्य सामाग्री उत्खनन गरी बिक्री वितरण गर्नु गैर कानूनी कार्य हो । यस्तो अबैध कार्यमा संलग्न हुनेलाई कानूनी कारवाही गर्ने व्यवस्था भएपनि शक्तिको आडमा धादिङ जिल्लाका विभिन्न स्थानमा गैर कानूनी ढंगबाट खोला तथा नदी दोहन गर्ने कार्य बढ्दै गईरहेको छ ।


नदी र खोलामा मेशिनको प्रयोग गर्दा त्यहाँ वग्ने पानीको वहाब परिवर्तन हुने,ठूला ठूला खाल्डा हुँदा दुर्घटना भई मानिसको अकालमा ज्यान जाने,नदी र खोलाका आसपासका बस्तीमा बाढी पहिरोको समस्या देखिने गरेको भएपनि गैर कानूनी कार्य रोक्न सबै तहका सरकार कमजोर देखिंदै गएको छ ।

गाउँ नजिकैको खोला र नदीमा मेशिनको प्रयोग गरेर बालुवा उत्खनन गरिदिंदा त्यहाँका गरिव तथा विपन्नहरु सबैभन्दा मारमा परेका छन् । मजदुरी गरेर जिवन निर्वाह गर्दै आईरहेका स्थानीयबासीलाई खोला र नदीमा पस्न नदिई सिमित व्यक्तिले गैर कानूनी आर्जन गर्न थालेपछि धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ दरियाँल खोला आसपासका वासिन्दा रोजिरोटी खोसिएको भन्दै सोमबार जिल्ला सदरमसुकाम आएर सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
घर छेउको खोलाबाट जथाभावी स्काभेटर लगाएर बालुवा उत्खनन हुँदा र आँफूहरुको रोजीरोटी खोसिएको भन्दै धादिङको गजुरी गाउँपालिका वडा नं ६ दरियाँल खोला आसपासका स्थानीयहरुले रोजिरोटीको सुरक्षाको लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।


कानून विपरित खोलामा डोजर लगाएर खोलाको बहाव नै परिवर्तन भएको, खोलामा बालुवा निकालेर जिविकोपार्जन गर्ने मदजुरको रोजीरोटी बन्द गरिदिएको र खोलामा ठुला ठुला खाल्डा बनाइदिएर वारी पारी आवत जावत गर्दा ज्यान नै जोखिममा परेको भन्दै दरियाँल खोलामा तत्काल मेसिन लगाउने काम बन्द गराइदिन माग गर्दै दरियाँलका स्थानीयले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई भेटेर स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।


जनप्रतिनिधि, राजनैतिक दलका नेताहरु नै अवैध काममा लागिरहेको र स्थानीयले विरोध जनाउँदा कुनै सुनुवाई नभएको बरु ज्यान लिने सम्मको धम्की आउने गरेको स्थानीयको भनाई छ । खोलाको प्राकृतिक बहाव नै परिवर्तन गरि सार्वजनिक जमिन तथा खोलामा जभाभावी डोजर लगाएको भन्दै तत्काल डोजर लगाउने काम बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यलय धादिङमा स्थानीयले ज्ञापन पत्र बुझाएका हुन् ।

खोलामा जथाभावी डोजर लगाईदिंदा बर्षौ देखि खोलाबाट वालुवा निकाली थुन्सेमा बोकेर बाहिर थुपारि बिक्री बितरण गर्दै आईरहेका मजदुरहरुको रोजीरोटी खोसिएकाले मेशिन औजार वन्द गरिदिन प्रशासनको ध्यानाकर्षण गराउनु परेको स्थानीय विमला चेपाङले वताईन । गजुरी गाउँपालिका वडा नम्बर ६ को वडा सदस्य समेत रहेकी विमलाले अबैध उत्खननको विरोध गर्दा आफ्नै पार्टीबाट निर्वाचित वडा सदस्य धुव सुवेदीले ज्यान मार्ने धम्की दिएको खुलासा गरेकी छिन ।उता सुवेदी संग यस बिषयमा जिज्ञासा राख्दा आंफुले कसैलाई पनि धम्कि नदिएको, आफ्नो खेतमा जमेको वालुवा निकाल्दा उल्टै विरोध भएको भन्दै स्थानीयले आएर रोजगारी मागे काम दिन तयार रहेको वताएका छन ।


स्थानीयहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले मेसिन लगाएको देख्ने वित्तिकै प्रहरीले कब्जामा लिने गरेको दावी गरेका छन् । नदी तथा खोलामा मेसिन लगाउन पाइदै पाइदैन, सुचना पाउने वित्तिकै प्रहरी लगाएर हामी कारवाही गराइहाल्छौं, सबै ठाउँमा प्रहरी नहुन सक्छ, प्रहरी पुग्दा खोलाबाट मेशिन हटाईने हुनाले त्यस्तो गलत कार्य देख्नासाथ स्थानीयले समयमै प्रहरीलाई सूचना दिन सके त्यस्ता मेशिन नियन्त्रणमा लिएर सम्वन्धित व्यक्तिलाई कारवाही गर्ने वताएका छन् ।

दुई बर्ष अघि देखि दरियाँल खोलामा अबैध उत्खनन भईरहेको भएपनि यस्तो गलत कार्य नियन्त्रणका लागि वडा कार्यालय र गाउँपालिकामा पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला आउनु परेको स्थानीयको गुनासो छ । हरेक बर्षा याममा दरियाँल खोलामा बालुवा निकाल्ने काम गर्दै आएका स्थानीय श्याम चेपाङले भन्छन, ‘हाम्रो अरु जागिर छैन, बाढी आएको बेला खोलामा पसेर २ महिना वालुवा निकालेर दशैं सम्मको खर्च जुटाउने गरेका थियौँ, अहिले खोलामा हामी पस्न पनि पाउँदैनौं, ठेकेदारहरुले जताततै डोजर लगाइदिएर हाम्रो रोजीरोटी खोस्ने काम गरेका छन् । नदी तथा खोलाहरुमा मेसिन लगाउनै पाइदैन भन्ने कानून छ भन्छन, तर हाम्रो गाउँपालिका भित्र त्यस्तो कानुन लागु भएको थाहा छैन, गाउँपालिकाका जनप्रतिनिधि, पराजित उम्मेदवार, सांसद ,मन्त्रीका नजिकका मान्छेहरुको मिलेमतोमा दिन रात अवैध काम भइरहेको उनको भनाई छ ।


शुक्रवार विहान ४ बजे इलाका प्रहरी कार्यलय गजुरीले खोलामा स्काभेटर लाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिइ स्काभेटर साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो । जिल्ला समन्वय समितिमा ५० हजार जरिवाना तिरेर डोजर साहुले डोजरको चावी फिर्ता लगिसकेको जिल्ला समन्वय समितिले जनाएको छ । त्यस्तै आइतवार पनि खोलामा दिउसै डोजर लगाइरहेको अवस्थामा स्थानीयबासीले २ वटा डोजर कब्जामा लिएपछि चालक र बालुवा झिक्न लगाउने धुव सुवेदी र स्थानीय विच भनाभन भएको स्थानीयले वताए । सुवेदी गजुरी गाउँपालिकाको वडा नं ६ को वडा सदस्य समेत हुन भने नेकपा जिल्ला कमिटिका सदस्य पनि हुन ।