गणेश हिमालको फेदी पाङसाङमा मोटर सरर

1521 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
पाङसाङ (धादिङ), – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने पर्यटकीय स्थल पान्साङपासमा सडक बनेपछि सरर मोटर चल्न थालेको छ । रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग पाङसाङमा गाडी पुगेको हो । ४ हजार मिटरको उचाइमा रहेको उक्त स्थानमा एक बर्ष अघि देखि मोटर वाटो जोडिएको हो ।


सोमदाङबाट पाङसाङ ८ किमी र त्यसपछि २३ किमी सडक पार गरेपछि तिप्लिङको ठुलोगाउँ पुगिन्छ । सडकको निर्माण पुरा भएपछि तिप्लिङको गाउँ गाउँमा यात्रुबाहक र मालबाहक साना सवारीसाधनहरु गुड्न थालेका छन् ।

रसुवाको स्याफ्रुबेंसीबाट सोमदाङसम्मको ४२ किमी सडक नेपाली सेनाले २०४४ सालमै सम्पन्न गरेको थियो । नेपाल सरकारले गणेश हिमालमा रहेको जस्ता र रुवीको खानी अध्ययन तथा उद्योग सञ्चालन गर्न उक्त सडक नेपाली सेना मार्फत निर्माण गरेको थियो । ३२ सय ७० मिटर उचाईको सोमदाङबाट ४ हजार मिटर उचाईको पाङसाङ देउराली कटाई तिप्लिङको ठुलोगाउँ सम्म ३१ किमी सडक निर्माण सम्पन्न भएपछि जिल्लाको सबैभन्दा विकटमा रहेको साविकको तिप्लिङ गाविसको गाउँबस्ती सडक सञ्जालमा जोडिन पुगेको हो । सडक सन्जाल जोडिएसँगै उत्तरी धादिङका बासिन्दा मोटर चढ्न ३ दिन हिंडेर छिमेकी जिल्ला रसुवाको स्याफ्रुबेंसी पुग्नु पर्ने वाध्यता पनि हटेको छ । सडक निर्माणपश्चात दैनिक उपभोग्यवस्तु ढुवानी गर्न सहज भएको रुवीभ्याली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मेन घले बताउँछन ।


सोमदाङ–तिप्लिङ सडक बनाउन थालेको बर्षौ वितिसक्दा पनि ठेकेदार र उपभोक्ताहरुले कामै नगरी कागज बनाएर भुक्तानी लिंदै सडक अलपत्र पार्दै आएका थिए । साविकको जिल्ला विकास समितिले बर्षेनी लाखौं खर्च गरेर १० वर्ष अघिदेखिनै यो सडकको निर्माण हुंदै आईरहेको थियो ।

रुबीभ्याली गाउँपालिकामा पर्ने साविकका ३ गाविस तिप्लिङ, सेर्तुङ र लापामा भूकम्पपछि पुननिर्माणका सामाग्री सहजै पु¥याउन उक्त सडक निर्माण गरिएको हो । रुबीभ्यालीका बासिन्दाहरुलाई सडकमार्ग नहुँदा दैनिक उपभोग्य वस्तुहरु किनमेल गर्न २ दिन पैदल हिँडेर दार्खाको डुण्डुरे पुग्नु पर्ने बाध्यता थियो । अब गाउँमा गाडी पुगेपछि यहाँका बासिन्दालाई किनमेलको लागि सहज भएको छ । साथै यस भेगको पर्यटन व्यवसाय फस्टाउने स्थानीय डेभिड घले बताउँछन ।

रसुवाको स्याफ्रुबेंसीबाट धादिङको सिमाना सोमदाङ हुँदै ४ हजार मिटर उचाइको तिप्लिङको उच्च पहाडी क्षेत्र पाङसाङसम्म सडकको ट्रयाक गत वर्ष नै खोलिएको थियो । भूकम्पपछि पुनर्निमाणमा आएको जेसुइट नेपालले निर्माण गरेको उक्त सोमदाङ–तिप्लिङ सडक खण्डको २८ किमि ट्रयाक खोल्न २ वर्ष लागेको जेसुइट नेपालले जनाएको छ । उक्त सडक निर्माणको लागत भने संस्थाले सार्वजनिक गरेको छैन ।

जेसुइटले जिविस धादिङसंग साबिकको तिप्लिङ गाविसको आधाखोलासम्म ट्रयाक खन्ने सम्झौता गरेको रुवीभ्याली गाउँपालिका–१ का वडाध्यक्ष पेम्बा घलेले बताए ।

 
सदरमुकाम धादिङबेंसीदेखि ३० किलोमिटर टाढा किन्ताङफेदी हुंदै डुण्डुरे, झार्लाङ, सेर्तुङ सम्मको सडक निर्माणको काम पनि अहिले भइरहेको छ । सदरमुकामबाट कम्तीमा ३ दिनको पैदल दूरी लाग्ने तिब्बतसँग जोडिएका विकट बस्तीलाई सदरमुकामसम्म जोड्ने सडक निर्माण योजना सञ्चालन भएको अढाई दशक बितेको छ । धादिङ र रसुवा दुवैतर्फबाट निर्माण भईरहेको सडक योजना सम्पन्न भएपश्चात रुवीभ्यालीका स्थानीयलाई दैनिक जीवनयापनमा सहज हुने रुवीभ्याली गाउँपालिकाका अध्यक्ष केरुङ तामाङ बताउँछन ।