सलाङघाट बस दुर्घटना -ज्यान गुमाउने संख्या ६ पुग्यो, २७ जना अझै वेपत्ता

1653 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, २५ साउन – शुक्रवार विहान धादिङको सलाङघाट स्थित त्रिशूली नदीमा खसेर भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । २७ जना अझै बेपत्ता छन । उद्धार गरिएका १६ जनाको धादिङ र काठमाडौंमा उपचार गरिएको छ । मृत्यु भएका मध्ये सर्लाहीका अजय दास र विजय कुर्मी तथा बसका कन्डक्टर ऋषि उप्रेतीको मात्र सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


मृतक अन्य तीन जनाको पहिचान हुन सकेको छैन । धादिङको कृष्णभीर,चरौंदी ज्यामिरे, चितवनको मुग्लिन, जुगेडी र तनहुँको देवघाटमा एक÷एक तथा गोरखा जिल्ला तर्फको त्रिशूली नदीको किनारमा २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले वताउनु भयो । शुक्रवार विहान ३.३० बजेको समयमा धादिङको बेनिघाट रोराङ गाउपालिका वडा नंम्बर ३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौका लागि छुटेको ना ६ ख ७४६९ नं।को न्यू सृष्टि डिलक्स बस सडकबाट अन्दाजी २०० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ भने १६ जना घाईतेलाई उद्दार गरी शुक्रवारनै उपचारार्थ काठमाण्डौं पठाईएको थियो । नदीमा आधा भाग डुवेको बस क्रेनको सहायताले किनारमा तानिएको थियो । पानीको वहाव निकै वेगमा रहेको कारण बसमा रहेका यात्रुहरु नदीमा खस्ना साथ नदीले वगाएर लगेको अनुमान गरिएको छ । दुर्घटना स्थल निकै अप्ठेरो भिरमा रहेका कारण सडक किनारमा डोरी बाँधेर सोही डोरीको सहायतामा उद्धार गरिएको थियो ।


नदीमा हराई रहेकाहरुको खोजी कार्य शनिवार विहानै देखि भइरहेको प्रहरी उपरिक्षक वैदवारले जानकारी दिनु भयो । दुर्घटनामा हराईरहेका अन्य व्यक्तिहरुको खोज तलासलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल विपद व्यवस्थापन गण कुरीनटारका गोताखोरको टोली संगै जिल्लाका प्रहरी तथा उद्धारकर्मी टोलि विहानै देखि त्रिशूली नदीमा खटिएका छन् ।


दुर्घटना भएको बसमा सर्लाही मलङवाबाट ४०जना, हरिपुरबाट २ जना गरी ४२ जनाको चलानि काटी यात्रु चढाएको र बस चालक, सहचालक र कन्डक्टर ३ जना र बिचमा चढेका तर टिकट नलिई क्याविनमा बसेका चार जना समेत गरी ४९ जना सवार रहेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटना स्थलमानै ज्यान गएका सर्लाहीका बर्ष ३५ को अजय दास भनिने भारत सितामढीका अजय ठाकुर, सर्लाहीका २५ बर्षिय बिजय कुर्मि र नाम थर वतन नखुलेको ५५ बर्ष जतिको पुरुष गरि ३ जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । यसै गरी सर्लाही जिल्ला हरिवन नगरपालिकाका ४६ बर्षिय बिनोद प्रसाद उप्रेतिको शव गोर्खा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर अमटे स्थित त्रिशूली नदीको किनारमा शुक्रवार साँझ ८ वजे तिर बजे फेला परेको प्रहरीले जनाएको छ ।
नदीले वगाएर हराईरहेका मध्ये सर्लाही जिल्ला मलंगवा १ बस्ने वर्ष ४० को सुनिल कुमार श्रीवास्तवको शव चितवनको जुगेडीमा र निजकै श्रीमती ३५ बर्षिया निमा श्रीवास्तवको शव चितवनको कालीखोलामा फेला पारि दुवै जनाको शव भरतपुर अस्पतालमा राखिएको छ ।

सर्लाही मंलङवाका १६ बर्षिय रोहित कुमार मण्डलको गजुरी अस्पतालमा उपचार गरिएको छ । भारत सितामणी घर भएका ४०बर्षिय धिरेन्द्र ठाकुर,सर्लाही कबिलास नपा।४ बस्ने ३२ बर्षिय बिजय यादव, सर्लाही हरिपुर घर हुने बस चालक बर्ष ४० को जिवन बिक,सर्लाही हरिपुर ४ बस्ने बसका सहचालक २८ बर्षिय प्रमोद कुंवर को काठमाण्डौं ट्रमा सेन्टरमा उपचार भईरहेको छ । त्यसै गरि सर्लाही गमहरिया ८ बस्ने बर्ष ३६ को दिनेश ठाकुर,औरही गापा ७ बस्ने बर्ष १५ को राहुल महत्तो र हरिपुर ९ बस्ने बर्ष २३ को अमृत लामा र नामथर वतन नखुलेको कम्मर र टाउकोमा गम्भिर चोट लागेका अन्दाजी ३५ बर्ष जतिका एक पुरुषको ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भईरहेको छ ।


ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएका मध्ये सर्लाही मलंगवा ११ का १६ बर्षिय सिकिन्द्र कुमार महतो, बिष्णु गा.पा. ५ का २१ बर्षिय कुश रन्जम महतो,सर्लाही ब्रहमपुरीका १६ बर्षिया स्वेता रौनियार, ब्रहमपुरी ६ बस्ने २२ बर्षिय राकेश बैठा, हरिपुर ७ बस्ने बर्ष ३४ को भोगेन्द्र चौधरी, सर्लाही मंलङवा २ बस्ने बर्ष २८ को समिपराज अंसारीे, कबिलासी लाठी नपा ६ बस्ने बर्ष ३१ को भुपेन्द्र कुमार यादव शुक्रवार साँझ डिस्चार्ज भएको धादिङका प्रहरी उपरिक्षक बैदवारले जानकारी दिनु भयो ।