त्रिशूलीमा खसेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

1346 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २७ साउन-  चार दिन अघि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाट नजिकैको पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बस दुर्घटनामा मर्नेको संख्या ११ पुगेको छ ।

                सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परि  मृत्यु भएका ९ जनाको शव आफन्तलाई बुझाइएको छ भने आईतबार तनहुँको देवघाट गाउँपालिका ५ घिनटार स्थित बन्दै गरेको पुलमुनी र आइतबारनै पुर्वि नवलपरासीको त्रिवेणी धाम स्थित भारततर्फको १७ नम्बर गेटमा फेला परेको करिब ४५ वर्षीय पुरुषको शव सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

                दुर्घटनामा परी घाइते भएका ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन । काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरुमा भारत सितामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका ४ बस्ने ३२ बर्षिय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जिवन विक रहेका छन् उनीहरुमध्ये चालक विकको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी  कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनुभयो ।

               धादिङ बस दुर्घटनामा बेपत्ता यात्रुहरुको खोजी गर्न पाँच जिल्लाका प्रहरी परिचालन गरिएको छ । बेपत्ता यात्रुको खोजी प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी बग्ने अन्य ४ जिल्लाका सुरक्षा निकायका अधिकारीसँग भेटेर समन्वय गरेको हो ।

                आईतबार धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अगुवाइमा गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासी सदरमुकाम पुगेर त्यहाँका सुरक्षा प्रमुखहरुलाई भेट गरि त्रिशूली नदी किनारमा खोजतलास अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न आग्रह गरिएको हो ।

समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्त समेत सहभागी थिए । बेपत्ता यात्रुहरु मध्ये सर्लाही घर भएका सर्वोच्च अदालतका अधिवक्ता ६२ वर्षीय अवधेस सिंहका भाई प्राध्यापक मुकेश सिंहले राजमार्गमा बारम्बार भइरहने दुर्घटना न्यूनिककरणमा राज्यले प्रभावकारी सुरक्षा नीति नअपनाएको दुखेसो पोखेका थिए ।

                त्रिशूली नदीमा अत्यधिक बाढी आएको समय परेकोले बगाएका सामान र शवहरु धेरैजसो नवलपरासीको त्रिवेणी बाँधमा फेला पर्ने भएकाले त्यहाँ कुनै शव फेला परेमा तत्काल जानकारी गराउन आग्रह गरिएको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले वताउनुभयो ।

                आइतबार मात्रै बिवेणी बाँधको भारततर्फको १७ नम्बर गेटमा शव देखिए पछि सोमबार सो शव झिकि प्रहरी मार्फत सर्लाही जिल्लामा शवको फोटो पठाई पहिचानका लागि पहल भईरहेको प्रहरीले जनाएको छ । बगाएका सामानहरु तैरिने त्रिशूली नदीका सबै सम्भावित भुमरी परेका बिभिन्न स्थानहरुमा प्रहरीको निगरानी बढाइएको एसपि बैदरवारले जानकारी दिनुभयो ।

                बसका १९ जना यात्रु अझै हराईरहेको र केही काखे बालकहरु प्नि वेपत्ता भएको हुन सक्ने आशंका गरिएको धादिङका प्रजिअ भागीरथ पाण्डेले बताए । नदी किनारै किनार भएर हिँडेर खोज्न सक्ने अवस्था नरहेकोले त्रिशूली किनारमा जलयात्रा गराउने ६ वटा रिसोर्टहरुलाई पनि खोजतलासका लागि पनि सतर्क गराइएको छ । जलयात्रा गराउने क्रममा नदी किनार र भुमरीहरुमा शवहरुको निगरानी गरी तत्काल प्रहरीलाई खवर गर्न रिसोर्टहरुलाई निर्देशन दिइएको छ ।