हावाले उडाएको पुल मध्य बर्षामा ढलान गरिंदै

1773 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- निर्माण कार्य शुरु भएको पाँच वर्ष विति सक्दापनि सम्पन्न हुन नसकेको नुवाकोटको केउरिनी बाट धादिङको फोस्रेटार जोड्ने पक्कि पुलको निर्माण कार्य अझै पुरा हुन सकेको छैन ।

पुलको निर्माण गरि सक्ने अन्तिम समय २०७४ आषाढ मसान्त तोकिएको भएपनि ठेकेदार कम्पनीले सम्झौता अनुसार काम गर्न नसकेपछि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७५ चैत्र मसान्तसम्म तोकिएको थियो । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद बहादुरसिंह लामाको कम्पनी समेतले ठेक्का पाएको यो पुल ढलानका लागि तयार पारिएको फर्मा गत चैतमा हावाहुरीले भत्काईदिएपछि पुल निर्माण कार्य रोकन पुगेको थियो । पुल निर्माणको जिम्मा सांसद लामाको हिम्दुङ एण्ड थोकर कम्पनी, सपना र नागार्जुन कन्सट्रक्सन जेभीले पाएको छ । लामा लगायतले राजनीतिक पहुँचको आडमा ठेक्का पुरा गर्नुपर्ने समय गुजारेर गुणस्तरहिन काम गरेको कारण पुल निर्माणकै क्रममा फर्मा भत्कन पुगेको स्थानीय रमेश ढुंगाना बताउँछन ।

पुल निर्माणमा अनियमितता भएको जनगुनासो आईरहेको बेला निर्माण कम्पनीले त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फर्मा २०७५ चैत ११ गते सोमबार साँझ आएको हावाहुरीले भत्काएको थियो ।


हावाहुरीले पुलको बन्दै गरेको संरचना भत्काएपछि ५ वर्षअघि देखि निर्माण सुरु गरिएको उक्त पुलको निर्माण कार्य अन्यौलमा परेको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माण सम्पन्न गर्न थप गरिएको एक बर्षको अवधि गत चैतमा सकिएको भएपनि बल्ल ठेकेदार कम्पनीले पुलको फ्रोसेटार तर्फको एक भाग ढलानका लागि तयारी गरिरहेको छ । पाँच बर्ष देखि बनाउन थालिएको पुलको जम्मा एक सय मिटर मात्रै ढलान भएको छ भने अर्को एक सय मिटर ढलान गर्ने तयारी गर्ने क्रममा हावाहुरीले फर्मा भत्काइदिएकोले नयाँ फर्मा जडा गरेर ढलानको तयारी भईरहेको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए । गत चैतमा ढलान गर्ने तयारी अवस्थामा राखिएको फर्मा हावाहुरीले सवै भत्काइदिएपछि ५० लाख हाराहारीमा क्षति भएको निर्माण कम्पनीको दावी छ ।


पुलको कुल लागत १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैया रहेको छ भने पुल १९२ मिटर लामो हुनेछ । निर्माण गरिसक्नुपर्ने दोश्रो पटकको अवधी सकिनै लाग्दा हावाहुरीले पुल भत्काइदिएपछि पुल निर्माण गर्ने समय लम्बिन पुगेको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ केउरिनी र धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार जोड्ने त्रिशूलीनदी माथीको मोटर चल्ने पक्कि पुल निर्माण सम्पन्न भएमा धादिङ र नुवाकोट जिल्लाका ग्रामीण भेग हुंदै दुवै जिल्ला सदरमुकाम जोड्ने मुख्य मार्गको रुपमा यो पुल प्रयोगमा आउने छ ।


धादिङको सदरमुकाम धादिङबेसीबाट पुरानो सदरमुकाम सुनौलाबजार हुंदै खाल्टे,फोस्रेटार भएर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका जोड्ने गरी त्रिशूली नदीमा बनिरहेको पक्की पुलको निर्माणमा भएको ढिलाईले आम नागरिकमा निराशा जगाएको फोस्रेटारका कृष्णप्रसाद खतिवडा बताउँछन ।

  • तस्बिर  : रमेश ढुंगाना /  राम गैरेबाट