चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

1326 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत बनेको चौँरीपालन व्यवसायमा युवापुस्ताको आकर्षण घट्दै जान थालेको छ ।

दुःख गर्न सक्दा राम्रै आम्दानी भए पनि पछिल्लो पुस्ताका युवा चौँरीपालन व्यवसायतर्फ आकर्षित नभएकाले चौँरीपालन व्यवसाय संकटमा पर्दै गएको हो । जनशक्ति अभावसँगै जंगलमा घाँस अभाव हुन थालेपछि व्यवसाय नै संकटमा पर्दै गएको किसानहरुको भनाइ छ ।

‘केही वर्षयता चरन क्षेत्रमा घाँस अभाव हुन थालेको छ’, दुई दशकअघिदेखि चौँरी पाल्दै आएका तिप्लिङका फैसिंह घले बताउँछन् ।घलेका अनुसार चरन क्षेत्रको समस्या एकातिर छ भने अर्कोतिर पछिल्लो पुस्ता चौँरीपालन व्यवसायमा खासै आकर्षित हुन सकेको छैन ।

चौँरीपालक किसान संघका पूर्वअध्यक्षसमेत रहेका घले आफैँ नयाँ कामको खोजीमा लागेको स्वीकार्छन् । ‘चौँरीको दूधबाट बनेको छुर्पी, घिउ बिक्री गरेर राम्रै आम्दानी हुन्छ’, उत्पादनका लागि गर्नुपर्ने दुःख भने धेरै हुने भएकाले नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको हो ।

चरन क्षेत्र र जनशक्तिको अभावले गोठमा चौँरी घट्दै गए पनि रूवीभ्याली गाउँपालिकामा अहिले पनि ४ सयको हाराहारीमा चौँरी रहेका छन् । चौँरी स्याहार्ने जनशक्ति अभावले गोठमा चौँरीको संख्या घटाउनुपर्ने बाध्यता बढ्दै गएको किसानहरु बताउँछन् । व्यावसायिक चौँरीपालन गर्ने किसानहरुले अहिले पनि वर्षभरिमा ३ लाखसम्मको कमाइ गर्दै आएका छन् ।

चौँरीबाट किसानले राम्रो आम्दानी लिने गरेको भए पनि पछिल्लो पुस्ताका युवा गोठ बस्न नमान्ने भएपछि व्यवसाय संकटमा परेको तिप्लिङका घले बताउँछन् । पछिल्लो पुस्ताका युवाहरुको गन्तव्य वैदेशिक रोजगारी र सहरबजार हुन थालेको चौँरीपालक किसानहरु बताउँछन् । हिमाली क्षेत्रमा सञ्चार, स्वास्थ्य र यातायातको समेत पहुँच नभएको र चौँरीको गोबर सोहोरेर स्याहार गर्नुपर्ने भएकाले युवाहरु गोठ बस्न नमान्ने गरेको जुम्साई घलेले बताए ।

समुद्री सतहबाट २५ सय मिटरभन्दा माथिको उचाइमा चौँरीपालन हुने गर्दछ । धादिङको सोमदाङ, पान्साङलगायतका लेकाली क्षेत्र चौँरीका लागि अनुकूल मानिन्छ । लेकमा अन्न उत्पादन नहुने भएकाले त्यहाँका अधिकांश बासिन्दाले चौँरी पाल्ने गरेका छन् । तर, चौँरीपालनमा धेरै मेहनत र कम प्रतिफल हुन थालेपछि कृषकको चासो त्यसतर्फ घट्दै गएको हो ।

सरकारले चरन क्षेत्रको व्यवस्था, दुग्धजन्य पदार्थ ओसारपसारका लागि सहज सडक सञ्जाल, पशु बिमालगायत कार्यक्रममार्फत कृषकलाई सहयोग पु¥याउने हो भने अझै पनि व्यावसायिक चौँरीपालनलाई अघि बढाउन सकिने धादिङ चौँरीपालक किसान संघका अध्यक्ष दिनेश घलेको भनाइ छ ।

हिमाली भेगको बस्ती भएकाले यहाँको मुख्य पेसाका रुपमा रहेको चौँरीपालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिकाले किसानहरुलाई पशुको औषधोपचारका साथै दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाउन आधारभूत प्राविधिक सेवा उपलब्ध गराउनुको साथै पशु बिमाको कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रमहरु बनाइरहेको रूवीभ्याली गाउँपालिकाका अध्यक्ष चेरूङ तामाङले जानकारी दिए ।