जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

1351 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु २ लाख सहयोग हस्तान्तरण गरेको छ ।

जनभोजन कार्यक्रमको कार्यालय थाँक्रे गाउँपालिकाको तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेललाई सो रकम  हस्तान्तरण गरिएको हो ।

प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खाना खुवाउदै आएको छ ।

साथै धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ । दैनिक करिव रु ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो ।

धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अगाडी देखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आइरहेको छ ।

उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका सत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।